लस एन्जेल्स । हालै गरिएको एक अध्ययनले दैनिक रूपमा सोडा वा अन्य गुलियो पेय पदार्थ पिउने मानिसहरूलाई कलेजोको क्यान्सरको खतरा उच्च रहने गरेको देखाएको छ ।त्यस्ता हल्का पेय पदार्थमा राखिने थप चिनीका कारण रगतको चिनीको मात्रा र इन्सुलिनको स्तरलाई गडबड गर्ने र त्यसको नकारात्मक असर कलेजोमा पर्ने बताइएको छ । चिनीले कलेजोमा जलन उत्पन्न गर्ने र चिल्लो जम्मा गर्ने काम पनि गर्दछ । यी दुवै समस्या क्यान्सर जोखिमका कारक तत्व हुन् । जुन १४ देखि १६ सम्म बसेको पोषणका लागि अमेरिकी समाजको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान प्रतिवेदनमा दिनमा कम्तीमा एकपटक यस्तो पेय सेवन गर्ने व्यक्तिलाई समेत कलेजोको क्यान्सर हुने उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।
हार्वर्ड टी.एच.चान स्कुल अफ पब्लिक हेल्थलगायत अन्य थुप्रै प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले झण्डै १९ वर्षको अवधिमा ५० देखि ७९ उमेर समूहका ९० हजार ५०४ जना महिलाबाट प्राप्त तथ्यांकलाई आधार मानेर अध्ययन गरेका थिए । उनीहरूले चिनीयुक्त पेय जस्तै सोडा वा अन्य फलफूलका जुस सेवनको कलेजोको क्यान्सरको खतरासँग सम्बन्ध छ वा छैन भन्नेबारे अध्ययन गरेका थिए । उनीहरूले दिनमा कम्तीमा एकपटक चिनीयुक्त पेय पिउने महिलालाई महिनाको तीनपटक वा त्यो भन्दा कम यस्ता पेय पिउनेका तुलनामा कलेजोको क्यान्सर विकास हुने जोखिम ७३ प्रतिशतले बढी रहेको पत्ता लगाएका छन् ।
अन्तर्राष्ट्रिय विश्व क्यान्सर अनुसन्धान कोषले कलेजो क्यान्सर विश्वमा सामान्यतया सबैभन्दा देखिने छैंटो क्यान्सर भएको जनाएको छ । अमेरिकन क्यान्सर सोसाइटीकाअनुसार अमेरिकामा चिनीयुक्त पेय सेवन र त्यसको कारण हुने मृत्युको संख्या बढिरहेको छ । अध्ययनका क्रममा प्राप्त अन्य प्रमाणहरूकाअनुसार कलेजोको क्यान्सरको जोखिम रक्सी सेवनका कारण बढी र कफी सेवनका कारण थोरै हुने गरेको छ । साउथ क्यारोलिना विश्व विद्यालयका विद्यावारिधिका विद्यार्थी तथा यस अधययनका प्रमुख लेखक लोङग्याङ झाओका अनुसार चिनीयुक्त पेय पदार्थहरूको कटौती गरी कलेजोको क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।