वीरगंज । नाइजेरियाको सरकारी स्वामित्वमा रहेको एउटा तेल कम्पनीले तेल चोरीका कारण चार अर्ब अमेरिकी डलर गुमाएको जनाएको छ ।
गत वर्ष कम्पनीको दैनिक २ लाख ब्यारेल तेल चोरी हुने गरेका थियो । कच्चा तेल आपूर्ति हुने पाइपलाइनमा भएको क्षतिका कारण यस वर्षको पहिलो तीन महिनाभित्र मात्रै नाइजेरियाली राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको करिव १ अर्ब ५० करोड डलर नोक्सान भइसकेको छ । तेल चोरीकै कारण गत महिना कच्चा तेलको उत्पादन घटेर प्रतिदिन करिब १० लाख ब्यारेलमा सीमित हुन पुगेको थियो । अप्रिलमा प्रतिदिन औसतमा १२ लाख ब्यारेल तेल उत्पादन हुने गरेको थियो ।
यसरी चोरिएका कच्चा तेल अवैध प्रशोधन केन्द्रहरूमा लगेर तताउने र चिस्याउने प्रविधिबाट पेट्रोलियम बनाएर त्यसलाई जर्किनमा राखेर कालोबजारमा बेचबिखन गर्ने गरिएको छ ।
तेल बजार सम्बन्धी आफ्नो मासिक प्रतिवेदनमा पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) ले पेट्रोलियम उत्पादनमा नाम कहलिएका अफ्रिकी मुलुकहरू नाइजेरिया, अँगोला र इक्वेटोरियल गिनीको तेल उत्पादन परिमाण मे महिनामा खस्केको जनाएको छ । तेल चोरी समस्याका कारण रुसको युक्रेनमाथि भइरहेको आक्रमणको कारण विश्वमै तेलको अभाव देखिएका बेला अफ्रिकी तेल उत्पादनकर्ताहरूले धेरै फाइदा उठाउन सक्ने संभावनामा प्रश्न चिन्ह खडा भएको छ ।