वीरगंज । एकजना महिलाले आत्महत्या गरेपछि गरेपछि प्रहरीले वीरगञ्जका एक जना चिकित्सक (डाक्टर) पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का डा. करण यादव रहेका छन् । डा.यादव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा कार्यरत छन् । बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही वडा नम्बर ५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदी डा. यादवलाई भेट्न धरान पुगेका बेला बिहीबार धरान वडा नम्बर १० स्थित जनहित गेस्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेकी थिइन् ।
पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार हुँदै थियो । आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृतक महिला र डा. यादवबीच चिनजानको सम्बन्ध देखिएको छ । डा. यादवले नै बोलाएर सुवेदी गत बिहीबार धरान आएकी थिइन् । दुवै बीच प्रेम सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जनाएको छ । डा. यादव र मृतक महिला बीच यसअघि पनि काठमाडौँ, वीरगञ्ज लगायत ठाउँमा भेटघाट भएको बुझिएको छ । सुवेदीका लागि गेस्ट हाउसको कोठा डा. यादवले नै बुक गराएका थिए । महिलाले ढोका नखोलेपछि गेस्टहाउसका कर्मचारीले डा. यादवलाई बोलाएका थिए । डा. यादवले आएर ढोका खोल्दा तन्नाको पासो लगाएर सुवेदी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
सुवेदीलाई तत्काल प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्दा गर्दै शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रायले बताए । ९ वर्षीया छोराकी आमा सुवेदी र उनका श्रीमान् केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दम्पतीबीच सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेका बेला पछिल्लो समय सुवेदी र अविवाहित डा. यादवबीचको सम्बन्ध नजिकिँदा काठमाडौंबाट धरान भेट्न ती महिला आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक सुवेदीका आफन्त धरान पुगिसकेकाले उनीहरुले दिने जाहेरीको आधारमा डा. यादवलाई कारबाही गरिने प्रहरी निरीक्षक रायले बताए । उनले आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने बताए । उनले भने, ‘मृतक महिलाको पोस्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने छ ।’