वीरगंज । संघर्ष, युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित भएका छन्। युनिसेफ (संयुक्त राष्ट्र बाल कोष)का अनुसार बालबालिकाको विस्थापनको यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो। प्रतिवेदनमा रुस-युक्रेन युद्ध वा प्राकृतिक प्रकोपका कारण २०२२ मा विस्थापित बालबालिकाको तथ्यांक समावेश गरिएको छैन। प्रतिवेदनअनुसार १.३७ करोड शरणार्थी बालबालिका र २.२८ कराेड आन्तरिक स्तरमा विस्थापित भएका बालबालिका पनि विस्थापित बालबालिकामा परेका छन्।
विस्थापित बालबालिकालाई स्वास्थ्य सेवा, शिक्षा र संरक्षणको आवश्यकता छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले विस्थापित बालबालिकाको बढ्दो संख्याले सरकारहरूलाई बालबालिकाको विस्थापन रोक्न र विस्थापित बालबालिकाले शिक्षा, सुरक्षा र अन्य आवश्यकताहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सरकारलाई बाध्य पार्नेछ भन्ने आशा राखेकी छिन्।प्रतिवेदनका अनुसार शरणार्थी बालबालिकामध्ये ५० प्रतिशत मात्रै प्राथमिक विद्यालयमा पढिरहेका छन्।
एक चौथाइभन्दा कम किशोर शरणार्थीहरू माध्यमिक विद्यालयमा भर्ना भएका छन्। यी विस्थापित बालबालिकालाई स्वास्थ्य सेवा, शिक्षा र संरक्षणको नितान्त आवश्यकता छ। आफ्ना आमाबाबुबाट अलग भएका वा विस्थापित बालबालिकाका बाबुआमा नभएका बालबालिकाहरू मानव बेचबिखनको ठूलो जोखिममा हुन्छन्। यस्ता बालबालिका हिंसा, शोषणको सिकार हुने जोखिम छ। युनिसेफका अनुसार मानव बेचबिखनका पीडितमध्ये २८ प्रतिशत बालबालिका रहेका छन्।