वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आफ्नो लक्ष्यभन्दा बढी राजश्व असुली गरेर देखाएको छ । गत जेठ महिनामा आफ्नो राजश्व असुलीको लक्ष्य भेटाएसँगै वीरगञ्ज भन्सार कार्यालयले समग्र वर्षमा पाएको लक्ष्यभन्दा बढी राजश्व असुली गरेर देखाएको हो । भन्सार कार्यालयले उपलब्ध गराएको जानकारीकाअनुसार विभागले जेठ महिनाका लागि १६ अर्ब ७५ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा झण्डै सवा अर्ब बढि अर्थात १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार रुपैयाँ संकलन गरेर देखाएक हो । जुन मासिक लक्ष्यभन्दा ७ दशमलव ९१ प्रतिशतले बढी हो । चाली आर्थिक वर्षको पछिल्लो पाँच महिनामा राजश्व उठाउने लक्ष्य पूरा गर्न नसकेको वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनामा लक्ष्यअनुसार राजस्व असुली गर्दा समग्र वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अवधीमा १ खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको वीरगञ्ज भन्सारले यस अवधिमा लक्ष्यभन्दा १ दशमलव ७० प्रतिशत बढी अर्थात १ खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार रुपैयाँ राजस्व असुली गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेललले जेठ महिनाको अन्तिम समयमा इन्धन र सवारी साधनबाट राम्रो राजस्व आएपछि लक्ष्य भेटाउन सफलता मिलेको बताए । ‘जेठ महिनाको अन्त्यतिर रक्सौल अमलेखगञ्ज पाइपलाइनबाट तेल धेरै आउँदा राजश्व पनि राम्रो उठ्यो,’ उनले भने, ‘केही नयाँ सवारी साधन पनि जाँचपास भएपछि त्यसको सकारात्मक नतिजा आएको हो ।’ वीरगञ्ज भन्सार कार्यालयले आफ्नो लक्ष्य भन्दा बढी राजश्व संकलन गरेपनि सुख्खा बन्दरगाह भन्सार भने आफ्नो लक्ष्य भेटाउन असफल भएको छ । यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारले जेठ महिनामै आफ्नो लक्ष्य भेटाउन नसक्दा समग्रमा वार्षिक लक्ष्य पनि पूरा गर्न नसकेको हो । जेठ महिनामा ४ अर्ब ५१ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा सुख्खा बन्दरगाह भन्सारले लक्ष्य भन्दा ५ प्रतिशत कम अर्थात ४ अर्ब २९ करोड ८५ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
मासिक राजस्व असुली कमजोर भएपछि सिर्सिया भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठसम्म पाएको राजश्व असुलीको लक्ष्य पनि भेटाउन असफल भएको छ । साउनदेखि जेठसम्म ११ महिनाको अवधीमा सुख्खा बन्दरगाह भन्सारले ४७ अर्ब ५२ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ९७ दशमलव १० प्रतिशत अर्थात ४६ अर्ब १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ असुली गरेको छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले जेठ महिनामा राजस्व लक्ष्य भेटाउन नसक्नुमा सरकारले बिलासिताका वस्तु आयातमा लगाएको रोक तथा अन्य वस्तुमा गरिएको कडाइ मुख्य कारण रहेको बताए । ‘आयात नै कम भएपछि त्यसको असर राजस्वमा पर्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यसमाथि एलसी खोलेर आयात भएका मालवस्तुमा पनि मार्जिन राख्न वाणिज्य बैंकहरुले दबाब दिएपछि आयातकर्ताले बन्दरगाहसम्म ल्याएर पनि जाँचपास गराउन सकेका छैनन् ।’