वीरगन्ज । विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि पहिलो पटक देखिएको छ । दुबईबाट नेपाल आएका एक जना नेपाली नागरिकमा मंकिपक्सको लक्षण देखिएको हो । उनको हाल काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
मंकिपक्सको लक्षण देखिएका ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेका छन् । अस्पताल स्रोतका अनुसार बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका छ । थप परीक्षणपछि अझै प्रष्ट हुने अस्पतालले जनाएको छ ।
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका ती युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो ।ती युवककोे ढाँड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता विविरा प्रशस्तै रहेको र ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मंकिपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो। त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो ।पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।
सुरुमा जनावरबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा समेत सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताइन्छ ।यो भाइरस संक्रमण भएपछि शरीरमा पानी सहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँ भित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर संक्रमण हुन सक्ने साथै संक्रमित व्यक्तिको सिँगान‚ कफ तथा कपडा प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम रहेको छ।