वीरगंज । बाँकेमा २९ प्रतिशत गर्भवती, सुत्केरीको बाटोमै मृत्यु हुने गरेको पाइएको छ। बाँकेको स्वास्थ्य कार्यालयले एक कार्यक्रममा गर्भवती र सुत्केरी मृत्युसम्बन्धि यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सुत्केरी बेथा लागेपछि ढिलो गरी अस्पताल हिँडाउने र अस्पतालहरूले पनि एउटा बाट अर्कोमा रिफर गर्ने गर्दा गर्भवती सुत्केरीको बाटोमै मृत्यु हुने गरेको कार्यक्रममा बताइएको थियो। लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै गर्भवती, सुत्केरीको मृत्यु बाँकेमा भइरहेको तथ्यांकले देखाएको छ। यद्यपि सुविधासम्पन्न अस्पताल हुनेमा पनि बाँके अगाडि छ। अस्पताल र स्वास्थ्य संस्थाको पहुँच भएर पनि बाँकेमा मातृशिशु मृत्युदर अधिक रहेको छ। बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा ४६ जना, २०७६/७७ मा ३५ जना र २०७५/७६ मा २९ जनाआमाको मृत्यु भएको थियो। स्वास्थ्य कार्यालय, बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले चालु आर्थिक वर्षको ६ महिनामा १४ जना आमाको मृत्यु भएको जानकारी दिइन्।
‘थप केहीको मृत्यु भएको छ । हामीले तथ्यांक मिलाउँदै छौँ’, श्रेष्ठले भनिन्। जिल्लामा ४३ प्रतिशत अस्पतालमा, २९ प्रतिशत बाटोमा र १४ प्रतिशत आमाको घरमै मृत्यु भएको उनकाे भनाइ छ। स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले सकेसम्म घरमै बच्चा जन्माउन प्रयास गर्ने र ढिलो गरी अस्पताल ल्याउदा धेरै आमाको मृत्यु हुने गरेको बताइन्। उनले भेरी अस्पतालमा चाप बढी रहेको, बच्चा जन्माइ सकेपछि भुइँमा सुताउनु पर्नेदेखि जनशक्तिको कमी पनि आमा मृत्युको कारण भएको बताइन्। यो वर्ष मृत्यु भएका धेरै आमा नेपालगञ्ज उपमहानगरपालिकाका छन्। १४ जनामध्ये ६ जना नेपालगञ्जका हुन्। ठूला अस्पताल यही छन्, यातायातको सुविधा छ। तर, पनि सुत्केरी मृत्युदर नेपालगञ्जमै बढी देखिएको छ। नेपालगञ्जसँग जोडिएको जानकी गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ। राप्ती सोनारी र नरैनापुरमा दुई-दुई जना र कोहलपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ। गत वर्ष डुडुवामा ७, जानकी र नरैनापुरमा पाँच-पाँचजना, बैजनाथमा चार जना र कोहलपुरमा दुई जनाको मृत्यु भएको थियो।
स्वास्थ्य संस्था र पहुँचको कुरा गर्दा जिल्लामा ११ वटा ठूला अस्पताल छन् । तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, सहरी क्लिनिक ६ वटा, सामुदायिक स्वास्थ्य इकाइ दुईवटा, आधारभूत स्वास्थ्य केन्द्र २७ वटा, खोप क्लिनिक २ सय ८३ वटा र गाउँघर क्लिनिक एक सय ४४ वटा छन्। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंगशाहले नियमित गर्भ जाँच नगर्ने, घरमै बच्चा जन्माउने प्रयास गर्ने, ढिलो गरी अस्पताल लैजाने लगायतका कारणले आमा मृत्यु दर बढी रहेको जानकारी दिए। सरकारले गर्भ रहेको ४, ६, ८ र ९ महिनामा जाँच गर्नेलाई पैसा दिने गर्दछ। पैसा दिँदा पनि नियमित गर्भ जाँच हुँदैन। यसमा चेतनाको अभाव पनि देखिएको छ। मृत्यु भएका आमालाई समुदायगत हेर्दा मधेसी र मुस्लिम बढी रहेका छन्। बाँकेमा प्रजनन् उमेरका विवाहित महिलाको संख्या एक लाख २९ हजार ३ सय ८९ रहेको छ। अपेक्षित गर्भवतीको संख्या १४ हजार ९ सय १२ जना रहेको छ।