वीरगंज । वीरगंज महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै क्षेत्रमा खर्चको मितव्ययिताका लागि पहल सुरु गरेको छ । महानगरपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्नको लागि यस महानगरपालिकाले यस अघिका मेयर विजय सरावगीले अनावश्यक रुपमा नियुक्त गरेका सयौं ज्यालादारी कर्मचारी हटाएको हो । निर्वाचन आउनै लागेका बेला तत्कालीन मेयर सरावगीले मतदातालाई नै प्रभावित पार्ने गरी अघिल्लो बैशाखदेखि सयौं कर्मचारीहरु दैनिक ज्यालादारीमा नियुक्त गरेका थिए । महानगरपालिकाले त्यस्ता कर्मचारीहरुलाई असार १ गतेदेखि लागू भई अर्को व्यवस्था नभएसम्मका लागि हटाएको हो ।
महानगरपालिकामा रहेका अनावश्यक कर्मचारीहरु हटाउँदा व्ययभार कम हुने विश्वास त्यहाँका सूचना अधिकारी अर्विन्द लाल कर्णको रहेको छ । सूचनामा हटाइएको ज्यालादारी कर्मचारीहरुको संख्या नखुलाइएको भएता पनि यो संख्या सयौंको हुनसक्ने श्रोतले बताएको छ । यद्यपी सूचना अधिकारी कर्णले भने यो संख्या ६० देखि ६५ को हाराहारीमा हुनसक्ने बताए । हाललाई अनावश्यक कर्मचारी हटाउने निर्णय भएर सूचना प्रकाशित गरिएको र त्यस्ता व्यक्तिहरुको विवरण अद्यावधिक गर्ने काम भइरहेको उनले न्युज हाउस नेपालसँग बताए ।
सोमबार जारी सूचना अनुसार उनीहरुलाई ०७९ असार १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको उल्लेख गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालद्वारा हस्ताक्षरित सूचनामा वीरगंज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी केन्द्रमा मिति २०७८ बैशाखदेखि नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म मिति २०७९ असार १ गतेदेखि लागू हुने गरी ज्यालादारी सेवाबाट हटाएको व्यहोरा उल्लेख गरिएको छ ।