बिरगंज । यस वर्ष बजार खुल्दा माग र मूल्य दुवै बढेकाले त्यसको प्रभाव व्यापारमा देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘महामारी मत्थर भएसँगै बजार खुल्दा त्यसअघि खुम्चिएको मागको दबाब बढ्यो । इन्धन र वस्तुको मूल्यमा अन्तरराष्ट्रियस्तरमै भएको वृद्धिले पनि व्यापारको मूल्य बढी देखिएको हो,’ उनले भने ।
वीरगञ्ज नाकाबाट १० महीनामा ५ खर्ब ७७ अर्ब रुपैयाँको आयात हुँदा निर्यात भने ७३ अर्ब रुपैयाँको मात्र भएको भन्सार कार्यालयको तथ्यांक छ । तर, यो अघिल्लो आवको सोही अवधिभन्दा ९३ प्रतिशत बढी हो । समीक्षा अवधिमा यो नाकाबाट ३७ अर्ब रुपैयाँका विभिन्न स्वदेशी उत्पादन निकासी भएको थियो ।
यो नाकाको कुल व्यापारबाट मात्रै नेपाललाई ५ खर्ब ३ अर्ब रुपैयाँ व्यापारघाटा भएको भन्सारको तथ्यांकले देखाउँछ । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ३४ प्रतिशत बढी हो । सो अवधिमा यस्तो घाटा ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबर थियो । वीरगञ्जबाट मुख्य रूपमा सवारीसाधन, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थको आयात हुन्छ । यो नाकाबाट तयारी कपडा पनि उल्लेख्य परिमाणमा आयात भएको छ । तयारी कपडामात्र साढे ७ अर्ब रुपैयाँको भित्रिएको छ ।
वीरगञ्जबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल, कपडा, धागो, कुकुर वा बिरालोको खाना, पिना, गलैंचा र दन्तमञ्जन निर्यात भएको भन्सारले बताएको छ । जुत्ता, औषधिका कच्चापदार्थ, तयारी कपडा, बोरा र झोला पनि निकासी हुँदै आएको छ । आर्थिक अभियानबाट साभार