बीरगन्ज । गत शनिबार हत्या गरेको अवस्थामा शव बरामद भएका पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया टोलका निवासी ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन्।
शनिबार बिहान जगरनाथपुर गाउँपालिका-६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो। उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरासमेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुउपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।