वीरगंज । सरकारले इन्टरनेट तथा टेलिफोन सेवालाई पनि बन्द हडताल गर्न नपाउने सूचीमा समावेश गरेको छ । बिहीबार राजपत्र प्रकाशित गर्दै बन्द हड्ताल गर्न नपाउने सेवाको परिष्कृत सूची जारी गरिएको हो ।गृह मन्त्रालयले तय गरेको सूचीमा डाँक, तार, इन्टरनेट, टेलिफोन लगायतका २५ भन्दा बढी सेवा समेटिएका छन् ।
गृह मन्त्रालयले नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध लगाएको हो ।
बन्द हड्ताल निषेध गरिएका सेवामा डाँक, तार, टेलिफोन, जल तल, स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा समेत यसमा समेटिएको छ ।यस्ता क्षेत्रमा यसअघि नै बन्द हड्ताल गर्न नपाउने आदेश जारी भएको भएपनि नयाँ विषयका रुपमा इन्टरनेट थपिएको छ । यसअघिसम्म गृह मन्त्रालयले जारी गरेको सूचीमा इन्टरनेट सेवा भने समावेश भएको थिएन ।