वीरगंज । बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाहले बिजेपीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा दिएकाे आपत्तिजनक बयानप्रति प्रतिक्रिया दिएका छन् । समाचार च्यानल एनडिटिभीसँगको कुराकानीका क्रममा शाहले प्रतिक्रिया जनाएका हुन् । उनले यस विषयमा भारत सरकारले जे गर्याे, त्यो एकदमै कम भएको र जे गर्याे त्याे ढिलोगरी गरेको बताए ।पाकिस्तान, बंगलादेश, अफगानिस्तानजस्ता देशमा यस्तो बयान दिएको भए त्यस्तो बयान दिनेलाई मृत्युदण्डको सजाय हुने अभिनेता शाहकाे भनाइ छ । ‘त्यहाँ यसलाई ईश्वरनिन्दा मानिन्थ्यो। तर भारतका उच्च पदमा बसेका व्यक्तिहरू मौन बसे र यस भनाइबाट आहत भएका करोडौँ जनताको भावनालाई वास्ता गरिएन’, उनले भने ।
शाहका अनुसार भाजपाकी प्रवक्ता नुपुर शर्माले शीर्ष नेताकाे स्वीकृतिबिना उनले यस्तो कुरा बोलेकी हाेइनन् । शाहले हिन्दु देवदेवताकाे बारेमा पनि अपमानजनक टिप्पणी भइरहने शर्माकाे भनाइप्रति अंकित गर्दै भने, ‘म चुनौती दिन्छु कि कुनै भिडियो क्लिप उनीहरूलाई देखाइयाेस्, जसमा एक मुस्लिमले हिन्दु देव देवताहरूमाथि अपमानजनक टिप्पणी गरिरहेको छ ।’यस्ता खालका घृणा फैलाउनेहरूलाई प्रधानमन्त्रीले मात्र चुप गराउनसक्ने उनकाे भनाइ छ ।
शाहले भने, ‘यदि प्रधानमन्त्रीज्यू साँच्चै यो विष नफैलियोस् भन्ने चाहनुहुन्छ भने उहाँ आफैँ अगाडि आउनुपर्छ ।’भाजपाकी पूर्वप्रवक्ता नुपुर शर्माले एक टिभी बहसका क्रममा पैगम्बर मोहम्मदको बारेमा आपत्तिजनक टिप्पणी गरेकी थिइन्। त्यसलाई लिएर निकै विवाद भएको थियो । हालै उत्तर प्रदेशको कानपुरमा भएको हिंसालाई पनि उनको बयानसँग जोडिएको छ । यसपछि धेरै अरब देशहरूले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । धेरै देशले भारतीय राजदूतलाई बोलाएर आपत्ति जनाएका थिए । खाडी देशहरूमा भारतीय सामान बहिष्कार गर्न माग गरिएको छ। भाजपाले नुपुर शर्मालाई पार्टीबाट निलम्बन गरिसकेकाे छ ।