काठमाण्डाै – काठमाण्डौकाे जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेनले तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावकले शिक्षालयमा प्रदर्शन गरेका छन् । १५, १३ र १२ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।
तनाव मत्थर गर्न प्रहरी शिक्षालयमा पुगेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो ।
अहिले आरोपित वार्डेन बस्नेतको खोजी भइरहेको छ । उनीविरुद्ध जाहेरी दिन विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरिएको र अहिले जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।