वीरगंज । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन भारतमा गरिने भएको छ । भारतको हैदरावादस्थित रामोजी फिल्म सिटी स्टुडियोमा उक्त फिल्म छायांकन हुने फिल्मका अभिनेता हरिहर अधिकारीले पुष्टी गरेका छन् । हालै फिल्म निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठूलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको रामोजी फिल्म सिटी, हैदरावादमा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो ।
बलिउड तथा साउथका अधिकांश फिल्महरु उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । नीता ढुङ्गाना तथा हरिहर अधिकारी मुख्य अभिनयमा रहने उक्त फिल्ममा भारतका केही कलाकारहरु समेत अभिनय गर्ने पक्का भइसकेको छ । यो फिल्ममा गजनीका खलपात्र प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका केही कलाकारहरुको अभिनय रहने छ । यो फिल्म अभिनेत्री ढुङ्गानाको कम्पनी नीता फिल्म्सले निर्माण गर्न लागेको हो ।
यसैबीच, चन्द्र पन्तको निर्देशनमा बन्ने यो फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनिले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोहि प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनि र फिल्महरुदेखि सोसियल मिडिया सम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट ९कन्टेन्ट० प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ । यो फिल्म साउन महिनामा फ्लोरमा जानेछ । हाल स्कृप्टलाई अन्तिम रुप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविरलालले खिच्नेछन् ।