सिरहा । सिरहाको लहानको मुख्य चोकमा विद्यालय समयमा मुसहर समुदायका बालबालिका होटल नजिकमा यत्रतत्र फालेका कवाडीका सामानहरु टिपिरहेका हुन्छन् ।
पानीको खुला बोटल, रेडबुलको खाली डिबा, फलामका टुक्राहरु बोरामा सङ्कलन गरेर नजिकै रहेको विभिन्न कवाडी केन्द्रहरुमा बेच्न पुग्छन् । दिनको तीन सय रुपियाँसम्म कमाउन सकिने कुरा लहान–१ का जयकुमार सदाय, चन्चा सदाय र लिरवा सदायले बताएका छन् ।
विद्यालयमा एक महिनामा दुई चार दिन मात्र विद्यालय जाने र अरु दिन काम गर्ने गरिएको उनीहरुले बताएका छन् । करिब १२ वर्षका मुसहर समुदायको बालबालिकाहरु विद्यालय छाडेर कवाडी संकलन गरिरहँदा पनि बालश्रम रोक्न र बालअधिकार सुरक्षित गर्न कसैको नजर नपर्नु विडम्बनापूर्ण रहेको महिला अधिकारकर्मी रेणु कर्णले बताईन् ।
मुसहर समुदायको बालबालिकाहरुलाई खाना पोशाकसहितको व्यवस्थापन गरेर पढाईप्रति आकर्षण जगाउनुपर्ने धारणा लहान–२ का सुकदेव सदायको रहेको छ ।
विद्यालयमा नियमित आउन घरघरमा गएर अभिभावकलाई पटक पटक अभिमुखीकरण गरे पनि विद्यालयमा आउन बेवास्ता गरिएको लहान–१ स्थित श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनारायण चौधरीले बताए । मुसहर समुदायको बालबालिकाले गरिरहेका बालश्रममुक्त गराउन शिक्षा चेतनाको कार्यक्रम गर्न स्थानीय निकायको ध्यान आकर्षण गराउने लहान–२१ का वडाध्यक्ष राज कुमार यादवले बताए ।