वीरगञ्ज १७ जेठ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले इन्डो–नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसंग आईतबारको भेटमा श्रीसिया नदिको सफाइ आफ्नो घोषणापत्रमा रहेको र सो अनुसारको काम यथाशीघ्र सञ्चालन गर्ने बताएका छन् । प्रतिनिधिमण्डलले प्रमुख सिंहलाई स्वागत सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सिंहले सो कुरा बताएका हुन् ।
उनले भारतीय सवारी साधनहरूसँग महानगरमा गरिने अवैध शुल्क उठाउने कार्य पनि बन्द गरेको र नेपाल–भारत मैत्रीलाई आफ्नो कार्यकालमा निरन्तरता दिने बताए । कयक्रमका अध्यक्ष राजकुमार गुप्ताले नगरप्रमुख सिंहलाई शुभकामना दिंदै श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आग्रह गरेका थिए । उनले वीरगञ्जबाट बग्ने श्रीसिया नदीमा उद्योगको केमिकलयुक्त पानीले रक्सौलका मानिसहरूलाई पनि समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।
उनले भन्सारमा साँझ ४ बजेदेखि ६ बजेसम्म सवारीसाधनको इन्ट्री गर्ने व्यवस्था मिलाउन तथा राति ११ बजेसम्म निजी सवारी साधन रक्सौल जान पाउने व्यवस्था मिलाउन आग्रह गरे । यसले दुवै शहरबीच व्यापार बढ्ने र पर्यटन व्यवसाय पनि फस्टाउने सुझाव दिए । प्रतिनिधि मण्डलमा पप्पु केसरीवाल, धनराज साह, देशबन्धुकुमार, रमेशकुमार, रामकुमार र विकास कुमार लगायतको सहभागिता थियो ।