जनकपुर- जनकपुर सहित सम्पूर्ण मिथिलाञ्चल र देशभर आजदेखि छठपर्व विधिवत रुपमा सुरु भएको छ । चार दिवसीय छठको पहिलो दिन आज ब्रतालुले पहिलो दिन नुहाएर अरबा अरबाइन सुध्द भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन्।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।
यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ। शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ।
छठमा बाँसको ढाकी, डग्री, माटोको कोसिया, कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवम् विविध प्रकारका मिठाई तथा फलफूल दिनानाथलाई चढाउने गरिन्छ। अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्।
छठमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।
मधेशवासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन्। छठपर्वको पूजा सामग्री जोरजाम र किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलासयको किनारमा घाटलाई श्रृँगारिने काम भइरहेको छ।
खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाउने कार्य जारी छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ। छठ पर्वलाई समाजिक सद्भाव एवम् एकताको पर्वको रुपमा पनि लिइन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।