काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षदेखि नेपाली उत्पादन र उपभोग बढाउन नेपाली उत्पादन र उपभोग दशक सुरु गर्ने भएको छ ।
मंगलबार संसद्मा सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली उत्पादन र उपभोग दशक प्रारम्भ गरी प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग कार्यक्रम सञ्चालन गरिने बताइन् । उनले निजी क्षेत्रले अगाडि बढाएको स्वदेशी वस्तुको प्रयोग बढाउन मेक इन नेपाल, मेड इन नेपाल अभियानमा सरकार पनि सहभागी हुने बताइन् ।
यस्तै, तुलनात्मक लाभ भएका वस्तुहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि गरिने, सीपमूलक रोजगारी वृद्धि गरिने, नेपाली उत्पादनको बजार विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।