धनुषा । धनुषा जिल्लाको नगराइन नगरपालिका–८ मा दाजु भाई बीचको विवादमा गोली चलाएको आरोपमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने एक आरोपी फरार भएको छ ।
नगराइन नपा–८मा रहेको अकौरा टोलका जामुन पासवान र नसिब पासवान बीच सोमबार राती घरायसी विवाद भएको थियो । सोही विवादको क्रममा गोली चलेको प्रहरीले जनाएको छ । दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको छ । अहिले उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ भने एक आरोपी फरार भएको हो । प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली समेत बरामद गरको जिप्रका धनुषाका सूचना अधिकारी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको थियो । ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा पाँच जनाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले पक्राउ परेका मध्ये जिल्ला धनुषा नगराईन नगरपालिका– ८ अकौरा टोल का ३१ वर्षीय राजिव पासमान, सोही ठाउँका ३५ वर्षीय धर्मेन्द्र पासमान, ३० वर्षीय राजिव पासमान, ५८ वर्षीय श्री नारायण पासमानलाई पक्राउ गरेको छ । घटनामा संलग्नता देखिएको मध्ये ४५ वर्षीय कुलानन्द पासमान फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तको खोजतलाश तीव्र गतिमा भइरहेको जिप्रका धनुषाले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट १२ बोरको गोलीको खोका १ थान फेला पारेको थियो । त्यसपछि खोजतलाश गर्दै जाँदा खाल्डोमा पहेलो रंगको पेटीकोटमा बेरीएर राखेको सानो पेस्तोलको गोली फिट हुने सेतो रंगको फलामको टल्किने सानो कटुवा पेस्तोल एक नालको एउटा र १२ बोरको गोली फिट हुने फलामको ठूलो नलकटुवा पेस्तोल नाल १को ,१२ बोरको गोली पाँच राउण्ड , सानो पेस्तोलको गोली ८ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेकाहरुमाथि हातहतियार खर खजाना,ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा शीर्षकमा पाँच दिन ५ म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।