वीरगंज । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको छ । जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिवार र आइतवार बेनी सामुदायिक माविमा तालिम सञ्चालन गरिएको हो । तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।
उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ । निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, धौलागिरि, अन्नपूर्ण, मंगला, मालिका र रघुगंगाका निर्वाचन अधिकृतहरु क्रमश : भोलाराज रेग्मी, जानुका सुवेदी, धर्मराज पौडेल, गोविन्द उपाध्याय र तेजप्रसाद पौडेल तथा निर्वाचन अधिकारी घिमिरेले सहजीकरण गरेका थिए ।
छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिँगी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३५ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कूल ५६१ जना सुरक्षाकर्मीबाहेकका जनशक्ति खटाइएको प्रजिअ रानाले बताए । सोमवार साँझसम्म मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुग्ने उनले बताए । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा आइतवारदेखि नै कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् ।