३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको माहोल अब निकै तातिसकेको छ । प्रमुख दलहरु तथा उम्मेदवारहरु अहिले चुनावी सभा, घरदैलोमा व्यस्त छन् । विभिन्न दलका उम्मेदवारहरु मात्र होइन, यसपटक स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा पाँच जना स्वतन्त्र उम्मेदवारको पनि चर्चा चुलिएको छ । काठमाडौंमा बालेन शाह, भरतपुरमा जगन्नाथ पौडेल, पोखरामा अटेरी समूहका गणेश पौडेल, धनगढीमा गोपी हमाल र विराटनगरमा उमेश यादवले स्वतन्त्रबाट उम्मेदवारी दिए पछि आफैंमा बलिया मात्र देखिएका छैनन्, उनीहरुले दलीय उम्मेदवारलाई पनि चुनौती बनेका छन् । कतिसम्म भने यी उम्मेदवारका कारण गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष स्वयं ती स्थानहरुमा पुगेर आफ्ना उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् ।
चर्चा सुरु गरौँ, प्रदेश १ को विराटनगरबाट ।
विराटनगर महानगरमा सत्तारुढ गठबन्धनबाट नागेश कोइराला मेयर पदका उम्मेदवार भएका छन् । त्यस्तै, नेकपा एमालेले महानगर कमिटीका अध्यक्ष सागर थापालाई मेयर उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनले मेयरमा जनता समाजवादी पार्टीका उमेश यादवलाई उम्मेदवार नबनाउने भए पछि उनले पार्टी नै परित्याग गरे । विराटनगरका केही वडाहरुमा राम्रो प्रभाव भएका यादव यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा उठेर तेस्रो भएका थिए । उनीसँग दोस्रो भएका नेकपा एमालेका विनोद ढकालको मतान्तर त्यति धेरै थिएन । यादवले जसपा छाड्ने र उम्मेदवारी दिने भए पछि यसले त्यहाँ दुई उम्मेदवार सागर थापा र नागेश कोइराला दुवैलाई चुनौती थपिएको छ । यादवले जसपाको भोट आफूतिर तान्ने मात्र होइन, कांग्रेस र एमालेका असन्तुष्ट समूहको भोट पनि आफूतिर तान्ने छन् । यादवको उम्मेदवारीका कारण त्यहाँ कांग्रेस र एमाले दुवै दल आत्तिएका छन् ।
यो स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेको अर्को महानगर हो, भरतपुर । सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा नेकपा माओवादी केन्द्रलाई परेको भरतपुरमा यसपटक कांग्रेसले नै मेयरमा लड्न पाउनु पर्ने माग राख्दै आएको थियो । तर, सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरको चुनावी मैदानमा उठाएको छ । योसँगै स्थानीय तहमा कांग्रेसमा राम्रो प्रभाव भएका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिए । उनले उम्मेदवारी फिर्ता नलिएपछि उनलाई नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेको छ । तर, उनलाई पछिल्ला दिनसम्म पनि उम्मेदवारी फिर्ता गराउन कांग्रेसका नेताहरु सफल भएनन् । अब पौडेलको उम्मेदवारी गठबन्धनकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदी दुवैका लागि चुनौती बनेका छन् । भरतपुरमा दलीय राजनीतिका कारण आजित भएका मतदाताहरु पौडेलको पक्षमा जान सक्ने सम्भावना बढेको स्थानीयहरुले बताउन थालेका छन् । अर्को महानगर पोखरामा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका गणेश पौडेलले चर्चा कमाइसकेका छन् । त्यहाँ सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई पहिलेको आफ्नो पार्टीबाट मत तान्नु पर्ने चुनौति छ । त्यस्तै, नेकपा एमालेका कृष्ण थापा पनि त्यहाँ एमालेभित्र नै विवादको सामना गर्दैछन् । यसका कारण उनले पनि केही मत गुमाउन सक्ने सम्भावना बढेको छ ।
यसले गर्दा त्यहाँ गठबन्धनका उम्मेदवारबाट असन्तुष्ट कांग्रेसका मतदाताले स्वतन्त्र उम्मेदवार गणेश पौडेललाई र एमालेबाट पनि असन्तुष्ट पक्षले गणेशलाई आफ्नो विकल्प बनाउने सम्भावना बढेको छ । त्यसैले, गणेश दुई मुख्य उम्मेदवारका लागि चुनौती बनेका छन् । धनगढीमा पनि मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपी हमालले आफ्नो पक्षमा माहोल निकै राम्रो बनाएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर दोस्रो बनेका गोपीले यसपटक दलीय उम्मेदवारहरुलाई आफूले हराउने दाबी गर्दै आएका छन् । देशको राजधानी काठमाडौं महानगरमा पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितका लागि चुनौती बनेका छन् । उनले नयाँ मतदाता र एमाले तथा गठबन्धनका युवा मतदाताको मत तान्न सक्ने अनुमान गरिएको छ । बालेनले काठमाडौंमा मेयरमा जित्न सक्ने सम्भावना न्यून रहेको अनुमान गर्दा गर्दै पनि मेयरमा निर्वाचित को होला भन्नेमा उनले ल्याउने मतले फरक पार्ने निश्चित छ ।