जनकपुर । बुद्ध एयरले भोलिदेखि धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान दैनिक गर्ने भएको छ ।बुद्ध एअर जनकपुरधामका स्टेसन प्रबन्धक विजय प्रसाद सिंहले यात्रुहरूको माग अनुसार जनकपुरधाम-पोखरा-जनकपुरधाम उडान भोलिदेखि हप्ताको सातै दिन हुने जानकारी दिएका हुन् ।
अहिले हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुँदै आएकोमा अब सातै दिन हुने उनकाे भनाइ छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन २१ गतेदेखि जनकपुरधाम-पोखरा उडान सुरु गरेको थियो ।जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत् पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाइ यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।