काठमाडौं । चीनको राजधानी बेइजिङस्थित समर प्यालेसको वेनच्याङ ग्यालरीमा आज विहीबारदेखि ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी कार्यक्रम आयोजना आयोजना गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सो प्रदर्शनीमा नेपालका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषय तथा सम्पदाहरुको तस्बिर राखिएको छ । ‘भिजिट नेपाल २०२०’को सन्दर्भमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गरिएको नेपाली दूतावासले जारी गरेको वक्तव्यमा जनाइएको छ । सो प्रदर्शनी आउँदो नोभेम्बर ७ सम्म चल्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागीहरुलाई दूतावासका डेपुटी चिफ अफ मिसन सशीलकुमार लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै यो प्रदर्शनीले चिनियाँ जनतालाई नेपालको भ्रमणका लागि अझ आकर्षित गर्ने अपेक्षा गरिएको जनाएका थिए । उनले सो अवसरमा चिनिया पर्यटकलाई सन् २०२०मा हुने नेपाल भ्रमण वर्ष कार्यक्रममा नेपाल जान आग्रह समेत गरेका थिए ।सो अवसरमा बोल्दै बेइजिङ पिपुल्स एशोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका उपाध्यक्ष सु बेन्शेङ्गले कार्यक्रमको सहआयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमले नेपालको बारेमा थप जान्न चिनियाँ जनतालाई सजिलो हुने जनाए ।
फोटो प्रदर्शनी कार्यक्रम बेइजिङस्थित नेपाली दूतावास र पिपुल्स एशोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजको संयुक्त आयोजनामा र बेइजिङ पार्क म्यानेजमेन्ट सेन्टर तथा समर प्यालेसको सहयोगमा भएको दूतावासले जनाएको छ । समर प्यालेस बेइजिङको मुख्य पर्यटकीय आकर्षणको केन्द्र रहँदै आएको छ । सो स्थानमा वर्षमा १० औं लाख विश्वका विभिन्न देशका पर्यटक त्यहाँ जाने गरेका छन् ।