वीरगंज | कोभिडका अन्य भेरियन्टको तुलनामा ओमिक्रोन बाहिरी वातावरण लामो समयसम्म जीवित रहन सक्ने अध्ययनले पत्ता लगाएको छ । जापानी अनुसन्धानकर्ताहरूले प्रयोगशालमा गरेको परीक्षणमा अन्य भेरियन्टको तुलनामा ओमिक्रोन बाहिरी वातावरणमा लामो समयसम्म जीवित रहेको दाबी गरेका छन् ।
अन्य भेरियन्टहरूमध्ये ओमिक्रोन प्लास्टिक र छालामा लामो समयसम्म जीवित रहेका थिए । यसकारण लामो समय बाँच्न सक्ने हुँदा बढी संक्रामक रहेको उनीहरूको दाबी छ । ओमिक्रोन प्लास्टिक र छालामा अल्फा, बिटा, गामा र डेल्टाको तुलनामा बढी समयसम्म बाँच्न सक्ने पुष्टि भएको हो । अनुसन्धानकर्ताहरूले उच्च वातावरणीय स्थिरताका कारण ओमिक्रोन बढी संक्रामक रहेको दाबी पनि गरेका छन् ।
प्लास्टिकमा ओमिक्रोन एक सय ९५.५ घन्टासम्म बाँच्न सक्छ । जुन हालसम्म देखिएका भेरियन्टको तुलनामा सबैभन्दा धेरै हो । अल्फा भेरियन्ट प्लास्टिकमा ६५ घन्टा, बिटा भेरियन्ट एक सय ९१.३ घन्टासम्म बाँच्न सक्ने अध्ययनहरूले देखाएका थिए । यस्तै गामा भेरियन्ट बाहिरी वातावरणमा एक सय ५६.६ घन्टा र डेल्टा भेरियन्ट औसत एक सय १४ घन्टासम्म बाँच्न सक्ने प्रयोगशाला परीक्षणले पुष्टि गरिसकेका छन् ।
यस्तै छालामा पनि अन्य भेरियन्टको तुलनामा बढी समयसम्म रहन सक्ने पुष्टि भएको छ । ओमिक्रोन छालामा २१.१ घन्टा बाँच्न सक्ने बायोआरक्सिभले जनाएको छ । ओमिक्रोन सार्स कोरोना भाइरसको तुलनामा ८.६ घन्टा बढी बाँच्न सक्ने पुष्टि भएको हो । यस्तै अल्फा भेरियन्ट १९.६ घन्टा, बिटा १९.१ घन्टा, गामा ११ घन्टा र डेल्टा १६.८ घन्टासम्म बाँच्न सक्छ ।
छालामा रहेको भाइरस अल्कोहलसहितको स्यानिटाइजरले १५ सेकेन्डभित्र निर्मूल पार्न सक्छ । त्यसैले कोभिड संक्रमण न्यूनीकरणका लागि स्यानिटाइजरले मुख्य भूमिका खेलेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एन्टिजेन परीक्षणका लागि नाकको स्वाब बढी भरपर्दो
ओमिक्रोन भेरियन्टमा मुख र घाँटीको स्वाबको तुलनामा नाकबाट लिइएको स्वाब बढी प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको ल्याब परीक्षणमा नाकको स्वाबमा सक्रिय संक्रमण देखिने सम्भावना बढी भएको हो । अध्ययनमा पिसिआर र एन्टिजेन नमुना परीक्षण गरिएको थियो ।
नाकबाट लिइएको स्वाबमा संक्रमण ९५ प्रतिशतसम्म पत्ता लागेको देखाएको छ । डेल्टा संक्रमणमा मुख अर्थात् घाँटीको स्वाबबाट पनि संक्रमण पत्ता लाग्ने जनाइएको थियो । तर, ओमिक्रोनको संक्रमणमा नाकको स्वाबभन्दा घाँटीको स्वाबबाट ४० प्रतिशत कम संक्रमण पत्ता लागेको जनाएका छन् । यद्यपि, हालसम्म ओमिक्रोन परीक्षण घाँटी र नाकको स्वाबबाटै भइरहेको छ । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट संक्रमणदर व्यापक भए पनि प्रभाव विश्वभरि नै कमजोर देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।