वीरगञ्ज । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै ६ गुणाले बढी हो। गत आवमा वीरगञ्ज भन्सार नाका भएर युक्रेनबाट नेपालमा १ अर्ब ७३ करोड ७५ लाख १३ हजार मूल्य बराबरको मात्रै सामानहरु आयत भएको थियो।
यस वर्ष युक्रेनबाट सामानको आयात बढ्दा वीरगञ्ज भन्सारले १२ लाख ६५ हजार २ सय १९ रुपैयाँ राजश्व उठाएको छ। गत आवको सात महिनाको अवधिमा भने ३ लाख २३ हजार ८ सय ५७ रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो।
सात महिनाको अवधिमा युक्रेनबाट वीरगञ्ज भन्सार नाकासहित देशका अन्य भन्सार नाकाबाट रु १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार मूल्य बराबरको सामान आयत भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार नेपालले युक्रेनबाट केराउ, खाने तेलको कच्चा पदार्थ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा आयात गर्ने गरेको छ। यस अवधिमा नेपालबाट युक्रेन १५ लाख ७८ हजार रुपैयाँ बराबरको सामान मात्रै निर्यात भएको छ।
नेपालबाट युक्रेनमा चित्रकला, कार्पेट तथा चिया निर्यात हुने गरेको विभागको जनाएको छ। नेपालमा युक्रेनबाट पछिल्लो समय भटमास र पाम आयल आयात गरेर प्रशोधित गरेर यहाँका व्यवसायीहरुले भारततर्फ निर्यात गर्दै आएका थिए।
पछिल्लो केही वर्षदेखि वीरगञ्ज भन्सार नाका भएर सबैभन्दा बढी प्रशोधित भटमासको तेल र पाम आयल निर्यात हुँदै आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका भएर २३ अर्ब ६८ करोड ५४ लाख २९ हजार बराबरको प्रशोधित भटमासको तेल र २२ अर्ब ७४ करोड ८ लाख ९७ हजार मूल्य बराबरको प्रशोधित पाम आयल भारतमा नेपालले निर्यात गरेको वीरगञ्ज भन्सारले जनाएको छ।
सात महिनाको अवधिमा वीरगञ्ज नाका भएर सामान आयत हुने ८६ देशहरुमध्ये पहिलो नम्बर मा भारत दोस्रोमा चीन छ भने युक्रेन पाँचौ स्थानमा छ।