काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि बुधबार दुई फरक टोलीको घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले दुई खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका सबै ३४ खेलाडीलाई नै टिममा राखेका छन् ।
अल्मुताइरीले घोषणा गरेको टोलीमा विमल घर्तीमगर र जगजित श्रेष्ठले पुनरागमन गरेका छन् । विमल पहिलो र दोस्रो दुवै खेलका लागि टिममा परेका छन् भने जगजितलाई पहिलो खेलका लागि मात्र राखिएको छ ।
टेकेन्द्र थापा, शत्रुघन चौधरी, सुदीप गुरुङ, कृतिसरत्न छुन्जु, प्रशान्त अवस्थी, आशिष राई, सुशील राई र आकाश बुढामगरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
मोरिससविरुद्धको खेलका लागि अल्मुताइरीले पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । आयुश घलानसहित तीन खेलाडी यसअघि नै टिमबाट बाहिरिएका थिए ।
आउँदो शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २३ खेलाडीलाई टिममा राखेका छन । जसमा जगजित श्रेष्ठ र विमल घर्तीमगरलले कमब्याक गरेका छन् । टेकेन्द्र थापा, सुदीप गुरुङ, कृतिसरत्न छुन्जु र आकाश बुढामगरले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
दोस्रो खेलका लािग अल्मुताइरीले छुट्टै २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । त्यसमा शत्रुघन चौधरी, प्रशान्त अवस्थी, सुशील राई र आशिष राईले पहिलोपटक टिममा मौका पाएका छन् ।
नेपालले मोरिसससँग यही माघ १५ र १८ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसका लागि मोरिसस टिम गएको सोमबार नेपाल आइपुगिसकेको छ । नेपाली टिमका कप्तान किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट नेपाल फर्किंदै छन् ।
नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि पहिलोपटक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
पहिलो खेलका टिम
किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, कृतिसरत्न छुन्जु र जगजित श्रेष्ठ ।
दोस्रो खेलका टिम
किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ ।