काठमाडाैँ। सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ ।
शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मिनभवन, माइतीघर मण्डला लगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसै क्रममा उनीहरूले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन । मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आदर्श मल्लले जानकारी दिए ।
उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरूको चर्को मूल्यवृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे ।विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका इकाइ समिति, नेपाल कमर्स क्याम्पसका इकाइ समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाइ समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन् ।
उनीहरूले मूल्यवृद्धि खारेज गर्ने आफूहरूको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्यवृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ ।