नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण दर २६ प्रतिशत देखिएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५ हजार १०२ जनाको कोरोना संक्रमण परीक्षण गर्दा २७ हजार ५६१ जनामा पुष्टि भएको एनडीटीभीले समाचार लेखेको छ।
यो संख्या गत २४ घण्टामा २९ प्रतिशत वृद्धि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमितको ज्यान गएको जनाइएको छ। मृतक संख्या गत १० जुन यताकै सबभन्दा बढी हो। त्यसबेला ४४ जनाको ज्यान गएको थियो।
हाल नयाँ दिल्लीमा ८७ हजार ४४५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ। त्यस्तै २५ हजार २४० जना घरमै आइसोलेसनमा रहेको बताइएको छ।
पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेको हो। भारतको नयाँ दिल्ली, मुम्बईलगायतका सहरमा भाइरस तीव्र गतिमा फैलिएको बताइएको छ।