वीरगंज | वीरगंजमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बित्न लागिसक्यो । वीरगञ्ज नाकामार्फत हुने सम्पूर्ण वैदेशिक व्यापार यो एकीकृत संरचनाको मातहतमा ल्याउने योजना भने अझै पूर्ण भएको छैन ।आईसीपीमा ओपेन डस्टी (बढी धूलो हुने) कार्गो र यात्रु भित्र्याउने बेग्लै लेनको व्यवस्था हुन नसक्दा वीरगंजको साविक इनर्वा भन्सारलाई यहाँ सार्न नसकिएको हो । वीरगंज भन्सारबाट भित्रिने मालसमान अहिले पनि आईसीपी र इनर्वा नाकाबाट दुवैतिर आउने गरेको छ ।
आईसीपीमा डस्टी कार्गो र यात्रु आवागमनका लागि बेग्लै लेनको व्यवस्था हुन नसक्दा इनर्वा भन्सारलाई आईसीपीमा गाभ्न नसकिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।वीरगंज नाकाबाट भित्रिने अधिकांश कार्गो आईसीपीमा गइसकेको छ । डस्टी कार्गोमा पर्ने कोइला र स्ल्याग इनार्वाबाटै आउँछ । रेलमार्फत रक्सौल यार्डमा अनलोड हुने यस्ता वस्तु र साल्ट ट्रेडिडले आयात गर्ने नुन तथा केही परिमाणमा फलाम उद्योगको कच्चा पदार्थ इनर्वाबाटै भित्रिने भन्सारले बताएको छ ।
सिमेन्ट उद्योगको सहायक कच्चा पदार्थ कोइला र स्ल्यागको सबै परिमाण इनर्वाबाटै आउँछ । यस्तो मालसामानमा धूलो बढी हुने भएकाले व्यवस्थापन असहज हुने भन्सारले बताएको छ ।केही वर्षअघि भारतको रक्सौल रेलवे यार्डमा नेपालका लागि आउने क्लिंकर अनलोडमा त्यहाँका स्थानीयले अवरोध गरेका थिए । क्लिंकरको धूलोले स्वास्थ्य समस्या भएको उनीहरूको भनाइ थियो ।
विरोध भएपछि बारा–पर्साका सिमेन्ट उद्योगले करीब डेढ सय किलोमीटर टाढाको नारायणपुर स्टेशनबाट क्लिंकर ओसारेका थिए । स्वदेशमै पर्याप्त उत्पादन हुन थालेपछि अहिले क्लिंकर आायत बन्द भइसकेको छ ।क्लिंकरमा प्रयोग हुने कोइलाको आयात भने बढेको छ । खुला र अधिक धूलोयुक्त यस्तो कार्गोले वातावरण बिगार्ने भएकाले आईसीपीको पूर्वतर्फ बेग्लै लेन बनाउनेबारे छलफल भइरहेको भन्सारले बताएको छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खबर लेखेका छन् ।