काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई काेरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।दुवै नेताले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । स्वास्थ्यमा केही समस्या देखिएपछि प्रचण्डले शुक्रबार बेलुकी कोरोना परीक्षण गरेको निजी सचिवालयले जनाएको छ । प्रचण्डको निजी सचिवालयमा कार्यरत केहीलाई पनि कोरोना संक्रमण भएको छ ।
अर्का नेता श्रेष्ठका अनुसार असहज महसूस भएपछि उनी बिहीबार पाँचदलीय समन्वय समितिको बैठकमा गएका थिएनन् । टाउको र जीउ दुख्नुका साथै रुघा लाग्ने लक्षण देखिएपछि शुक्रबार परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए ।माओवादी केन्द्रले पुस १० देखि १८ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । देशभरबाट जम्मा भएका करीब १७०० नेता कार्यकर्ता ८ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो ।
त्यसका बाबजूद माओवादी केन्द्रले १९ गते केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राख्यो । त्यसपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बधाई लिने भेटघाटमा व्यस्त रहे । बिहीबार पनि उनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए ।त्यही दिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भयो । शनिबार संक्रमितहरुको सूचीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ पनि थपिएका छन् ।
माओवादीका एक नेता भन्छन्, ‘हाम्रो भेटघाटहरु कोरोना बम जस्तै भए । अरु थुप्रैलाई संक्रमण भएको हुनसक्छ ।’ भेटघाटका क्रममा मास्क लगाएकाहरुले समेत बधाई दिने क्रममा हात मिलाउने र तस्वीर खिच्ने नाममा मास्क खोस्ने गरेको उनले सुनाए ।
जिल्ला–जिल्लामा एमालेको अधिवेशन र सभा
माओवादी केन्द्रको महाधिवेशन सकिंदा नसकिंदै नेकपा एमालेको जिल्ला अधिवेशनको चटारो शुरु भएको थियो ।शुक्रबार ६३ जिल्लामा उद्घाटन सभाहरु भए । काठमाडौंको मूलपानी र काभ्रेको धुलिखेलमा भएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सम्बोधन गरेका थिए । शनिबार कतिपय जिल्लामा सहमतिका आधारमा नेतृत्व चयन भएका छन् भने कतै उम्मेदवारी दर्ता लगायतका कार्यक्रम भइरहेको छ ।
मंसीरमा महाधिवेशन गरेको नेपाली कांग्रेसका नेताहरु अहिले पनि जिल्ला जिल्लामा जाने र सभाहरु गर्ने गरेका छन् । कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लामा २७ पुसमा अधिवेशन राखेको थियो, जुन राष्ट्रियसभा निर्वाचनका कारण १५ माघमा सरेको छ ।जनस्वास्थ्य विज्ञहरु भने ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट भइसक्दा पनि राजनीतिक दलहरुले भेला, आमसभाहरु गर्दा संक्रमण थप फैलिने बताउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार राजनीतिक दललाई बैठकहरु नै नगर्नुस् भन्न सकिन्न । तर ‘न्यू नर्मल एप्रोच’अनुसार चल्ने, भौतिक रुपमा बैठकहरु गर्दा पनि सकेसम्म कम मानिस सहभागी हुने, उनीहरुबीच सामाजिक दूरी पालना गर्ने, मास्क लगाउने जस्ता मापदण्डहरु पालना गर्नुपर्ने उनी बताउँछन् ।‘उहाँहरुलाई त्यसो गर्नुभयो भने यस्तो गर्नुपर्ने रहेछ है अरुले पछ्याउँथे । किनकि उहाँहरुलाई रोल मोडल मान्ने र अनुसरण गर्नेहरु धेरै हुन्छन्’ डा. पुन भन्छन्, ‘त्यही कारण मैले पटक–पटक यसमा जोड दिएको हुँ । त्यसलाई बेवास्ता नगरिदिएको भए हुन्थ्यो । तर एकाधबाहेक धेरैले बेवास्ता गरेको देख्छु ।’