वीरगंज | पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भारतसँग खुल्ला सीमा जोडिएका वीरगंजसहित जिल्लाका सबै नाकामा कडाइ गर्नुका साथै परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेर वीरगंज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
डीसीसीएमसीको बैठकले जिल्लाको भीडभाड हुने कार्यालयमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी ढकालकै अध्यक्षतामा बसेको बैठकले भीडभाड हुने कार्यालयमा अनिवार्य मास्क प्रयोग र सचेतनामूलक सूचना प्रसारप्रचार गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिडको नयाँ भेरिएन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनको लागि केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त कोभिड कोषबाट मास्क, सेनिटाइजरलगायतका सामग्री खरिद गरी वितरण गर्ने निर्णय पनि गरेको छ ।यस्तै, बैठकले स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकता अनुसार सबै स्थानीय तहमा पठाउने निर्णय पनि छ । यसैगरी, बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ ।
शुक्रवार बिहान २ घण्टाको अवधिमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगंजको ईनर्वामा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्मको अवधिमा सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् । ३५ देखि ६० वर्ष उमेर समूहका रहेको ईनर्वास्थित हेल्थ डेस्क ईन्चार्ज डा. अनिषा महतोले बताईन् । डा. महतोका अनुसार सबै जना घुम्ने र बेलुका फर्किने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए । कोभिड पुष्ठि भएका ९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका थिए । खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम नपाली स्वास्थ्य सतर्कता अपनाउन पनि डा. महतोले आग्रह गरेकी छिन् ।