वीरगंज | वीरगंजको ईनर्वामा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्मको अवधिमा १०० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् । ३५ देखि ६० वर्ष उमेर समूहका रहेको ईनर्वास्थित हेल्थ डेस्क ईन्चार्ज डा. अनिषा महतोले बताईन् । डा. महतोका अनुसार सबै जना घुम्ने र बेलुका फर्किने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए । कोभिड पुष्ठि भएका ९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका थिए । खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम नपाली स्वास्थ्य सतर्कता अपनाउन पनि डा. महतोले आग्रह गरेकी छिन् । यसअघि बिहिवार ३ सय ६० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्ठि भएको थियो । काठमाडौँ, नवलपु, चितवनका १/१ जना र ३ जना भारतीय गरी ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
दैनिक औषतमा साढे ४ सय जनासम्मको परीक्षण हुने गरेको छ । संक्रमण पुष्टि भएकाहरु सबैलाई लक्ष्ण देखिएको छैन । उनीहरुलाई होम आइसोलेट गर्ने गरी परिवारसँग समन्वय गरेर गाडी रिजर्भ गरी पठाउने गरिएको डा. महतोले बताइन् ।हेल्थ डेस्कमा अहिले १२ जना कर्मचारी कार्यरत छन् । उनीहरुले पालैपालो गरेर समय विभाजन गरी काम गरीरहेका छन् । कर्मचारीको लागि खानेपानीको अभाव र शौचालयको समस्या रहेको डा. महतोको भनाई छ । यसअघि नाकामा भवन निर्माणका लागि सरकारले बिनियोजन गरेको ५० लाख रुपैयाँ पनि जग्गा नपाएपछि फ्रिज भएको हुँदा समस्या भएको वीरगंज महानगरपालिका स्वास्थ्य शाखाका रितेश जैसवालले बताए । सिरियस केस आएपछि नारायणी अस्पतालसँगको समन्वयमा पठाउने गरेको हुँदा अहिलेसम्म सिरियस केस नआएको जैसवालको भनाई छ । ठूलो संख्यामा संक्रमण पुष्ठि भएमा भन्सारमा निर्मित १ हजार जना अटाउने क्षमताको होल्डिंग सेन्टरमा राख्न सकिने उनले बताए । नारायणी अस्पतालका चिकित्सक डा. सरोजरोशन दासका अनुसार अस्पतालमा हाल कोही पनि संक्रमित भर्ना नभएपनि दैनिक औषतमा ३ देखि ४ जनासम्ममा संक्रमण पुष्टि भइरहेको छ ।
पछिल्लो हप्तादेखि १ दिनको अन्तरालमा २५ देखि ३० जनाको नमुना पिसिआर परीक्षण थालेसँगै संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । परीक्षण गर्न आउनेमा केही लक्ष्ण देखिएका र बाहिर जाने व्यक्तिहरु रहेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेर सिमानाकाहरु कडाई गर्नुका साथै परिक्षणको दायरा बढाउन निर्देशन दीइएको जानकारी दिए । ढकालले जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण गर्न लगाइएको भने । यद्दपी, ग्रामिण क्षेत्रका नाकामा रहेका हेल्थ डेस्क प्रभावकारी नभएको गुनासो आउने गरेको छ ।