वीरगन्ज । वीरगन्जसहित मुलुकका अधिकांश स्थानमा विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत भएको छ । वर्षा र हिमपात भएसँगै चिसो बढ्दा न्यानोका लागि हिटर प्रयोग गर्दै हुनुहुन्छ भने केही महत्वपूर्णमा कुरा ख्याल राख्नुपर्छ ।
धेरैजसोले झ्यालढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्छन्, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । बन्द कोठामा धेरैबेर हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस सिर्जना हुन्छ । यसले बालबालिका, वृद्ध–वृद्धाकाे स्वास्थ्यमा बढी नै असर गर्छ ।
अर्कोतर्फ बन्द कोठामा हिटर बाल्दा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न गई मानिसको मृत्युसम्म हुनसक्छ । यसकारण हिटर प्रयोग गर्दा विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्छ ।
आज हामी हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने केही सावधानीबारे चर्चा गर्दैछौं ।
बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् ।
मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।
हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।
हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् ।
दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्नुहोस् ।
हिटरलाई कहिल्यै पनि ढाकेर नराख्नुहोस् । यसबाट आगलागीको सम्भावना अधिक हुन्छ ।
यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी पिउनुहाेस् । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
आवतजावत हुने स्थानमा हिटर नराख्नुहाेस् । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।
हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्नसक्ने सामग्रीहरु राख्नु हुँदैन ।