वीरगंज | शुक्रबार मध्यान्हतिर एकाएक एउटा खबर फैलियो । जुन अप्रिय खबर नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीको मृत्युसम्बन्धी थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवले आत्महत्या गरेको सम्बन्धी खबरले धेरैलाई स्तब्ध बनायो । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी आफू बस्दै आएको सरकारी क्वार्टरमै डुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
अवकाशको दिन नजिकिँदै गरेका उनले किन आत्महत्याको बाटो रोजे ? प्रहरीले अहिलेसम्म मुख खोलिसकेको छैन । उनको मृत्युपछि प्रहरीले परिवारलाई बोलाई घटनास्थलबाट शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान सुरु भएको मात्रै बताएको छ । सामाजिक सञ्जालमा उनको मृत्युबारे तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठेको छ । वरिष्ठ प्रहरी अधिकारीले मृत्युको बाटो खोज्नुपर्ने कसरी आयो भन्नेबारे चासो र चिन्ता पनि उत्तिकै सुनिन्छ । कतिपयले उनको मृत्युलाई डिप्रेशनसँग पनि जोडेर हेरेका छन् ।
यसैबीच अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपी यादवलाई कारबाहीको तयारी भइरहेको थियो । २०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अपहरणमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि कारबाहीको माग गरिएको थियो ।
यसैगरी गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका यादवका परिवारसँग भेट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
यादव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । अन्य, सहकर्मीहरु खान खान गएको बेला उनले आत्महत्या गरेको बताइएको छ । यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । उमेर हदका कारण आगामी माघ १५ गते उनले अवकाश पाउँदै थिए ।