वीरगंज। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर शुरु भएको मतदान राती साढे ११ बजे सकिएको हो । मतदानमा जम्मा ४६ सय ७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । ६२ जना महाधिवेशन प्रतिनिधि भने मतदानका लागि गएनन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेनन् । उनले महाधिवेशन महाधिवेशनजस्तो नभएको भन्दै सबै प्रकृयामा सहभागी नहुने निर्णय गरेका थिए ।
क बुथमा १३९१, खमा १२७४ र गमा २०१८ मत खसेको हो । प्रदेश न. १ बाट १५, बागमती प्रदेशका २६ जना र सुदुर पश्चिम प्रदेशका २ जना रहेको निर्वाचन समितिले जनाएको छ । मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभा गृह मा सभापतिको मतगणना गरिने छ ।
सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण सभापतिको गणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सभापति छान्न दोस्रो चरणको निर्वाचन हुनेछ । जसमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा निर्वाचन हुनेछ ।
पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।
सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ । सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।