वीरगन्ज । त्रिभुवन विमानस्थलबाट मंगलबार पनि ११ केजी सुन बरामद भएको छ । विदेशबाट नेपाल आएका २ सय २१ जना यात्रुबाट ११ केजी बराबर सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
बरामद गरिएकोमध्ये मंगलबार नै एक सय ४७ जना यात्रुले भन्सार महसुल बुझाई ६ केजी ९८२ ग्राम सुन फिर्ता लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।
यसवापत भन्सार कार्यालयले ६७ लाख ३० हजार ९ सय १२ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । ‘बाँकी करिब ४ केजी सुन भन्सारकै लकरमा हिजो डिपोजिट भएको छ,’ उनले भने, ‘सोमबारभन्दा मंगलबार सुन ल्याउने यात्रु कम पाइएको छ ।’
सोमबार पनि विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको थियो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको भट्टराईले बताए ।