वीरगञ्ज | प्रहरीले पर्साबाट साढे १३ सय एम्पुल लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषधसहित पर्साको धोविनी गाउँपालिका–२ आसबारी बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो।
उनलाई प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको प्रहरीले छिपरमाई गाउँपालिका ४ स्थित बन्जारी पुलबाट पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ ना४५प ११६४ नम्बरको मोटरसाइकल लिएर आउँदै गरेका साहको साथबाट लागूऔषध नुफ्रिन ४५० एम्पुल, डाइजेपाम ४५० एम्पुल
र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल लागूऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। साहलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।