वीरगंज | औपचारिक भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार भारतका विदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन्।
भारत भ्रमणको तेस्रो दिन उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटघाट गरेका छन्। यसअघि शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट मानार्थ महारथीको उपाधि लिएका थिए।
भारत र नेपालका सैन्य प्रमुखलाई एकअर्काले मानार्थ महारथीको उपाधि दिने चलन छ।
शर्मा भदौमा मात्र प्रधानसेनापति नियुक्त भएका हुन्। यसैगरि नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजले शर्मालाई वाल अफ अनरमा ‘इन्डक्ट’ हुने गरी सम्मानित गरेको छ। उनी यसरी सम्मानित हुने नेपालको पहिलो प्रधानसेनापति हुन्।
नेसनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धी हाँसिल गर्ने आफ्ना पूर्व विधार्थीलाई यस्तो सम्मान दिने गरेको छ।
शर्मा शुक्रबार स्वदेश फर्कने छन्।