भारत | भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन्। प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। वायु प्रदुषणको असर बालबालिकामा तत्कालभन्दा पनि पछि बढी देखिने सरोकारवालाले बताएका छन्। विशेष गरेर बालबालिकामा स्वासप्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने चिकित्सकले बताएका छन्। साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएकाले अस्पतालमा त्यस्ता बिरामी आउन थालेका छन्।
नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण अत्यन्त बढेको छ। प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले बिहीबार राति अबेरसम्म पटाका पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ। सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ।
हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्। दिल्ली मात्रै नभई भारतका अन्य पनि सहर अति प्रदूषितको सूचीमा पर्छन्। संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमै रहेका छन्। भारतमा प्रदूषित वायुकै कारण वर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्यांकहरुले देखाउने गरेका छन्।