वीरगंज | उत्तर कोरियामा खाद्य संकट थप गम्भीर बन्दै गएको छ । दक्षिण कोरियामा बस्दै आएका उत्तर कोरियालीहरुले उत्तर कोरियामा रहेका आफ्ना आफन्तहरु भोकमरीको अवस्थामा पुगेको बताएको बिबिसीले उल्लेख गरेको छ ।हिउँद लागेसँगै भोकमरी थप गम्भीर बन्ने त्रास बढेको छ । भोकमरीका कारण हुने मृत्यु लगातार बढ्दै गएको तथा सडकमा टुहुरा बालबालिका बढी देखिन थालेको डेली एनकेका प्रधानसम्पादक ली साङ योङको भनाइ छ ।
आर्थिक अवस्था कमजोर रहेकाहरु समस्यामा पर्ने क्रम बढ्दै गएको लीले बताइन् । उत्तर कोरियाबाट सूचना पाउन निकै कठिन छ । तर पहिले नै खाद्यन्न संकट झेलेको उत्तर कोरियामा कोरोना भाइरसको महामारीले थप समस्या ल्याएको छ ।केही समय पहिले नेता किम जोङ उनले देशमा खाद्य समस्या रहेको र सो समस्या सन् १९९० को दशकको गम्भीर विपत्तिसँग तुलना गरेका थिए । गएको वर्षको जनवरीदेखि संक्रमण रोक्न भन्दै उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरेको छ ।
खाद्यन्न तथा कृषिजन्य मलका लागि उत्तर कोरिया चीनसँग निर्भर रहँदै आएको छ । सीमा बन्द भएपछि सो समस्या थप बढेको हो । तर उत्तर कोरियाले चाँडै नै चीनसँगको सीमा खुला गर्ने तयारी गरेकाले समस्या केही हुलुको हुने आशा भने गरिएको छ ।