वीरगन्ज | अवरुद्ध सडक यातायात महिना दिनदेखि खुलेको छैन । बस र साना गाडी चल्न नपाउँदाको भर हवाईजहाज हो । १० दिन कुर्दा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । दसैं बिदामा घर आएका र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाजुरालगायत विभिन्न छिमेकी जिल्लाका यात्रुहरू कोल्टीमा अलपत्र छन् ।
हवाई टिकटका लागि कोल्टी विमानस्थलमा पर्खिरहेका यात्रु ।
कतिपय यात्रु दुई सातादेखि जहाजको टिकट पर्खाइमा छन् । बिरामी लिएर नेपालगन्ज वा धनगढी जान असोज २८ मा कोल्टी पुगेका हुम्लाका भैपुरा ऐडी अलपत्र छन् । टिकट नपाएर कोल्टीमै बस्नु परेको उनले बताए । ‘उपचारका लागि कर्ज गरेर ल्याएको पैसा टिकट कुर्दाकुर्दै कोल्टीमा खानबस्न मै सकियो,’ उनले भने ‘एघारौं दिनमा बल्ल नेपालगन्ज जान पाइयो । अधिकांश हवाई टिकटहरू बिचौलियाको नियन्त्रणमा रहेको यात्रुहरू गुनासो गर्छन् । कोल्टीबाट धनगढी र नेपालगन्जको भाडादर ५ हजार ५ सय भए पनि कतिपय यात्रुले १० हजारसम्म तिर्नुपरेको नागरिक समाज कोल्टीका अध्यक्ष जनेश भण्डारी बताउँछन् । सर्वसाधारण यात्रुहरू भने अन्योलमा परेको बताउँछन् । ‘कतिबेला टिकट वितरण गर्छन्, केही पत्तै हुँदैन,’ टिकटको पर्खाइमा एक साता कोल्टीमा पर्खेका बाजुराका ललित धामीले भने, ‘सर्वसाधारणले टिकट पाउने कुनै चान्स नै छैन । टिकट नपाएर सयौं यात्रुहरू अलपत्र परेपछि उनीहरूले पाँच दिनअघि कोल्टीमा नाराजुलुस नै गरे । अध्यक्ष भण्डारीले विमान सेवा कम्पनीका प्रतिनिधिहरूले मनपरी गरिरहेकाले सर्वसाधारण यात्रुहरूले सास्ती खेप्नुपरेको बताए । ‘टिकट वितरणमा साह्रै बेथिति भएकाले यात्रुले धेरै दुःख खेप्नुपरेको छ,’ उनले भने । एयरलाइन्सका प्रतिनिधिहरू भने सम्पर्कमै आउँदैनन् ।
कोल्टीबाट समिट, नेपाल एयरलाइन्स, तारा र सीता एयरलाइन्सले नेपालगन्ज र धनगढी उडान भर्ने गरेका छन् । नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले भने, ‘समिट एयरले दैनिक उडान भरिरहेको छ । अन्य कम्पनीहरूले फाट्टफुट्ट छ ।’ पर्यटनमन्त्रीको ठाडो आदेशमा एक सातायता नेपाल एयरलाइन्सले पनि उडान गर्दै आएको उनले बताए । कोल्टी विमानस्थलबाट बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगुबाट यात्रु नेपालगन्ज र धनगढी ओहोरदोहोरका लागि कोल्टी आउने गरेका छन् । बिचौलियाले मनपरी गरेको गुनासो आए पनि प्रहरीले सहजीकरण गरिरहेको विमानस्थल सुरक्षा गार्ड कार्यालयमा खटिएका प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताए । हाल टिकट पाएका हरेक यात्रुलाई कति तिरेर लिएको भन्ने सोधपुछ गर्ने गरिएको छ । ‘बाहिर चर्को मूल्यमा टिकट खरिद–बिक्री भइरहेको हल्ला चल्ने गरे पनि हामीलाई कुनै यात्रुले भन्दैनन्,’ निरीक्षक जोशीले भने । पहुँचवालाहरूले टिकट पाउने र सर्वसाधारणले अवसरै नपाउने अवस्था आएपछि अहिले लाइन लगाएर दैनिक १० वटा टिकट वितरण गराइरहेको उनले बताए । ‘६ टिकट भीआईपी, बिरामी र भैपरी आउने अवस्थाका लागि राख्ने गरिएको छ । १० वटा टिकट अनिवार्य रूपमा बाँड्न लगाइरहेका छौं,’ उनले भने, ‘दुई/तीन दिनयता केही सहज हुँदै आएको छ । कोल्टी–मार्तडी र पिलुचौर जिते (कालीकोट) सडक खण्ड लामो समयदेखि अवरुद्ध छ । कात्तिक सुरुमा लगातार तीन दिनसम्म भएको बेमौसमी वर्षापछि साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जुगाड–जडांगा खण्डको सडक क्षतविक्षत छ ।