वीरगन्ज | नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गरे । स्वास्थ्य सचिव डा.पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताए । उनले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने जानकारी दिए ।
नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।