वाशिङटन । क्यान्सर कसरी जन्मिन्छ भनेर अमेरिका र बेलायतका वैज्ञानिकहरुको एउटा टोलीले अनुसन्धान थालेको छ । पहिलो दिनमा कस्तो देखिन्छ भन्ने बारेमा उनीहरुले ल्याबमा परीक्षण गरेर निस्कर्ष निकाल्ने प्रयास गरेका छन् । यदि सुरुको चरणमा क्यान्सरको बारेमा जानकारी भएमा मानिसलाई केही लामो समयसम्म बचाउन सकिने उनीहरुको भनाइ छ । बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज, म्यानचेस्टर, युनिभर्सिटी कलेज लण्डन र अमेरिकाको स्ट्यानफोर्ड र ओरेगन युनिभर्सिटीमा आवद्ध वैज्ञानिकहरुले यसबारेमा पहल गरेका हुन् । यो विषयमा आफ्ना धारणा र विज्ञताहरु उनीहरुले आपसमा शेयर गर्नेछन् । वैज्ञानिकहरुले कम आक्रामक परीक्षण जस्तो रगत, सास फेराई र पिसाबको परीक्षणबाट नै कसरी पत्ता लगाउने भनेर पहल गरिरहेको जनाइएको छ ।
ताकि खतराको बारेमा ती परीक्षणबाट नै मानिसहरुलाई थाहा होस् । सुरुमै थाहा भएमा क्यान्सरको उपचार गर्न मद्धत पुग्ने उनीहरुको तर्क छ । तर, उनीहरुले यो ‘घाँसमा सियो खोज्नु’ जस्तै रहेको र ३० वर्ष पनि लाग्न सक्ने जनाएका छन् । उनीहरुका अनुसार ९८ प्रतिशत छातिको क्यान्सरका बिरामी सुरुकै चरणमा थाहा भएमा पाँच वर्षसम्म बाँच्न सक्छन् । चौथो चरणमा थाहा भएमा २६ प्रतिशत मात्रै सो अवधीसम्म बाँच्ने सम्भावना हुन्छ ।