बीरगंज । अघाएकाहरू अघाइसकेपछि पनि
मेवा मिष्टान्न खान्छन्
रुचे खान्छन्
नरुचे चौरासी व्यञ्जन पनि रछ्यानमा फाल्छन् !
कत्रो धाक–रवाफ कवाफसमेत मिल्काउँछन्
अघाएकाहरू भोक होइन, भोजन खान्छन् ।
भोकाएकाहरू रित्तो भाँडा हेर्छन्
भए कनिका नभए बुलबुल पानीमा
छ्वास्स पिठो हाल्छन्
ढिँडो मस्काउँछन्
आनन्दीमनले थपीथपी
मिठो मान्दै खान्छन् ।
भोकाएकाहरू डाँडावारि खाउँ भन्छन्
अघाएकाहरू डाँडापारि खाउँ भन्छन् !
अघाएका र भोकाएका बीचकोे विभेदकारी डाँडो
यो डाँडोलाई सम्याई सबैलाई पुग्ने
अन्न उमार्न
हराभरा उर्वरा बनाउन
यो धरा
पुरुषार्थ खोजिरहिछिन् वसुन्धरा ।
०००
खाम र बाकस
एकातिर आशाहरू काठको बाकसमा
बन्द आइरहेछ
अर्कोतिर सेतो डोरीले बाँधेको
खाम आइरहेछ
सेतो डोरीले बाँधेको खाममा
पराईको लडाइँमा वीरगतिप्राप्त
माथ्लाघरेको जवान छोरो मरेको खबर रहेछ
बन्द काठको बाकसमा नाम लेखेको रहेछ
विदेश कमाउन गएको गाउँले भाइको लास रहेछ !