सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।आइतबार पीडितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुंगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ भन्दै लास नबुझ्ने बताएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिए ।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।पीडित पक्षले भने ‘केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको’ बताएका छन् । उनीहरूले युवतीलाई परिवार पक्षले छुटाएर लगेको र युवकलाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको दाबी गरेका छन् ।