वीरगंज | प्रदेश २ प्रदेशसभाको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सुझावसहित संशोधनका लागि फिर्ता गरेका दुवै विधेयक विना संशोधन सातौं अधिवेशनको तेस्रो बैठकबाट पारित भएको हो ।प्रदेश पदक र स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार प्रदेशसभा बैठकले बिना छलफल पारित गरेको हो । तत्कालीन प्रदेश प्रमुख झाले संशोधनका लागि सुझावसहित फिर्ता पठाउनुको औचित्य नरहेको ठहर गर्दै बैठकले सर्वसम्मतबाट दुबै विधेयक पारित गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश पदक विधेयकमा सबै कुरा समेटिएको र यसअघि नै सर्वसम्मतिले पारित भइसकेका कारण छलफलमा समय खेर नफाल्ने ठहर गर्दै सांसदहरुले सर्वसम्मत पारित गर्न सहमति जनाएका थिए ।प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले भने प्रदेशसभाबाट सर्वसम्मतिले पारित भइसकेको कुरालाई बेवास्ता गर्दै तात्कालीन प्रदेश प्रमुख झाले प्रदेशसभाको सम्मानमा आँच पु¥याएका कारण त्यसमा आफूहरुले छलफल गर्न आवश्यक नठानेर सर्वसम्मतिले पास गरेको जानकारी दिए ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले सर्वसम्मतिले पारित भइसकेको विधेयकलाई प्रदेश प्रमुखले आफ्नो सुझावसहित विधेयक फिर्ता पठाउनुले प्रदेशसभाको गरिमामा ठूलो आँच पुगेको टिप्पणी गरे । त्यस्तै स्वास्थ्य सम्बन्धी कानून निर्माणका लागि सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रस्ताव गरेको स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख झाले पहिलोपटक गत फागुन २६ मा ती दुबै विधेयक सुझावसहित फिर्ता पठाएका थिए । उनको सुझाबलाई बेवास्ता गर्दै फेरि प्रमाणीकरणका लागि पठाइएकोमा गत असार ३१ मा उनले दुबै विधेयक फिर्ता पठाएका थिए । प्रदेश प्रमुख झाले विधेयक सच्याउन स्वास्थ्य सम्बन्धी विधेयकमा १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ११ बुँदे सुझाव दिएका थिए ।