वीरगंज । सन् १९७१ को ‘बंगलादेश लिबरेसन वार’ताका भएको विस्थापनमा परेर केही परिवार भारतका असम र पश्चिम बंगाल हुँदै नेपाल आए । आफू नेपालीभाषी भएको दाबी गर्ने तीमध्ये केही मेचीनगरमा छन् । पञ्चायतकालमा सरकारकै पहलमा आफू यता आएको बताउँछन् उनीहरू । त्यसरी दशकौं पहिलेदेखि काँकरभिट्टाका बासिन्दा बनेका एक वृद्ध ऊ बेला संयुक्त राष्ट्रसंघको कुनै संस्थामा आबद्ध भएर काम गरेको तर त्यसबापत हुनुपर्ने उचित मूल्यांकन नभएको गुनासो गरिरहन्छन् । राजा महेन्द्रकै अग्रसरतामा यता आएपनि राज्यले अहिलेसम्म कुनै खोजखबर नगरेकामा पनि उनको चित्तदुखाइ छ ।बंगाली लवजमिश्रित पर्वते नेपालीमा बोलेर टहलिरहने उनी हतारहतार कतै हिँडिरहेका भेटिए । पुराना चिनारु भएकाले जम्काभेट हुँदा हतारमै भएपनि कुशलक्षेम भयो । उही पुराना समस्या कसैलाई बताउन दगुरेका रहेछन् । धेरै प्रयासपछि सही मान्छे फेला परेका कारण आफ्नो गुनासो सम्बोधन हुने विश्वास बलियो भएको थियो उनको । पछिल्लो समय लगातार भाषण र अन्तर्वार्ता दिएर युट्युबमार्फत चर्चामा आएका एक ‘अभियन्ता’लाई गुनासा सुनाउन समय मागेका रहेछन् । हतारमा बाटो लाग्दै भने, ‘हामी सादासीधा मान्छेको कुरा बुझ्ने, सरकारलाई बुझाइदिने अब उही त हो नि †’
केही दिनपछि अर्को भेटमा उनी गुनासा सम्बोधन हुनेमा विश्वस्त देखिन्थे । सुनाए, ‘उसले मेरो कुरा उठाइदिन्छु भनेको छ । यूएनसँग कुरा गरिदिन्छु भनेको छ । नेपाल सरकारलाई पनि भनिहाल्छ ।’ वक्तृत्वकलामा कुशलता प्रमाणित गरेका यी ‘अभियन्ता’बाट राजनीतिक क्षेत्रका ‘ठूला मान्छे’ले पनि नजानेको र थाहा नपाएको कुरा सिक्छन्, उनले दाबी गरे । करिब एक वर्ष पहिलेदेखि युट्युब र टीभीमा दिनहुँ ‘अभियन्ता’का भाषण र अन्तर्वार्ता हेरेकाले उनको विश्वास गाढा भएछ । अत्यन्तै जानकार, सूचित र जेसुकै विषयमा पूर्ण आत्मविश्वासका साथ धारणा राख्न सक्ने मात्रै होइन, जस्तासुकै शक्तिशाली व्यक्ति र संस्थालाई पनि औंलो ठड्याएर चुनौती दिने मान्छेले आफ्ना समस्याको निदान खोजिदिन्छ भन्नेमा उनी ढुक्क थिए ।
युट्युबजस्ता सामाजिक सञ्जाल र यीमार्फत सार्वजनिक हुने खबर, धारणा, टिप्पणी र यी सामग्रीका आधारमा बन्ने आमविश्वास हाम्रा यथार्थ हुन् । यी वृद्ध भ्रममा हुनसक्छन्, उनको समस्या सम्बोधन गर्न ती कथित अभियन्ता कहिल्यै सफल नहुन सक्छन्, बिस्तारै यी अभियन्तामाथिको भरोसा पनि खिइन सक्छ, तर मोबाइलमा इन्टरनेट चलाउन बानी परेका यी वृद्धले आगामी दिनमा पनि खबरका स्रोत, अनेक विषयबारेका बुझाइ र विश्वासका आधार युट्युब वा त्यस्तै अरू विद्युतीय सञ्जाललाई नै बनाइरहनेछन् । उनले जस्ता बुझाइ बनाउँछन् र ती बुझाइका आधारमा जे गर्छन्, ती बेवास्ता गर्न नसकिने यथार्थ हुन् । आज गुनासो सुनाउन मात्र हिँडिरहेका छन्, भोलि नारा लगाउन जान्छन्, पर्सि भोट हाल्न, एवंरीतले युट्युबकै उकेरामा सिंगो समाजलाई प्रभाव पार्ने अरू धेरै काम गर्न सक्छन् ।
बंगलादेश–भारत–नेपाल मात्र होइन, राष्ट्रसंघसमेत जोडिएको उनको समस्या जटिल छ । सतहमा व्यक्तिगतजस्तो देखिने समस्याले नागरिकता, राष्ट्र–राज्य, मानव अधिकार, शरणार्थीलगायतका अनेक अवधारणासमेतलाई गाँजेर भयानक ठूलो राजनीतिक गुजुल्टो बनाइदिने सम्भावना उत्तिकै छ । उनलाई चित्त बुझाउन कुनै मन्त्रजस्तो समाधान कसैसँग नहुन सक्छ । आफूलाई चाहिएको सर्वज्ञानी र बलशाली सम्भवत: उसैलाई मात्र देखे जो युट्युबका पर्दामा मच्चिएर सबलाई लल्कारिरहेको छ, ‘अथोरिटी’ भएर हरेक प्रश्नको जवाफ दिइरहेको छ । तथ्यका नाममा मिति, अंक र नामहरू फरर फड्कारिरहेको छ । त्यसैले उनी युट्युब–अभियन्ताछेउ बिन्ती बिसाउन पुगे ।
पहिले मुठीभर मान्छे विश्लेषक र विज्ञ कहलिन्थे, टीभीमा उनै बोल्थे, अखबारमा उनैका लिखत प्रकाशित हुन्थे । टीभी र रेडियो, दैनिक र पाक्षिक सबै काठमाडौं, दिल्ली, बेइजिङ र वासिङ्टनमा थिए । यी केन्द्रका संस्था र व्यक्ति प्रतिष्ठित र विश्वासिला मानिन्थे । नेता, विश्लेषक, विज्ञ र विद्वान् बनेर गाउँ र साना सहरमा बसेकालाई ‘ज्ञानदान’ गर्थे । आन्दोलन र अभियानहरू उतै कसैले सृजना गथ्र्यो र त्यसको प्रभाव विस्तारका लागि केन्द्रबाट कोही परिचालित हुन्थ्यो । राजनीतिक दल र सामाजिक संस्था पनि पहिले केन्द्रमा बन्थे र तिनले प्रशिक्षित गरेका मान्छेले अन्यत्र संगठन र सञ्जाल विस्तार गर्थे । आम उपभोगका निम्ति संकथनहरूको निर्माण पनि यस्तै केन्द्रहरूमा हुन्थे र अन्यत्र फैलन्थे । अर्थात्, दुई–चार केन्द्रका नियन्त्रणमा कैद थियो सिंगो समाज ।
अचेल के फरक छ ? उत्तरआधुनिकहरूले भनेजस्तो केन्द्रभञ्जन भएको हो ? विविध केन्द्रहरू स्थापित भएका हुन् ? सबाल्टर्न अर्थात् पहिले आवाज नसुनिनेहरूको स्वर साँच्चै उचो हुँदै सुनिने भएको हो ? युट्युब र विद्युतीय सञ्जालमा जो सबैभन्दा उचो स्वरमा र सारा दुनियाँले सुन्ने गरी बोलिरहेका छन्, के ती मुठीभर एलिट नभएर सत्ताइतरका आम मान्छे हुन् ? यी प्रश्नका उत्तर जति सहजै दिमागमा छाउँछन्, अवस्था त्यति सरल नहुनसक्छ ।
सतहमा हेर्दा देखिन्छ— सूचना जोकसैले निर्माण र प्रसार गर्न सक्छ, गरिरहेको छ । ठूलो लगानी र भव्य सञ्चारगृह आवश्यक पर्दैन । कोही हातमा भिडियो क्यामेरा वा मोबाइल बोकेर ‘विकृति मास्न’ रेस्टुरेन्टका गोप्य कुना र होटलका गुप्त कोठाहरू चहारिरहेको छ । अवैध भनिएका सम्बन्धहरू उजागर गरेकामा ऊ गर्व गरिरहेको छ । अर्को कोही भ्रष्टाचार निर्मूल पार्न माइक र मोबाइललाई हतियारजस्तो तेस्र्याउँदै सरकारी अड्डा चहारिरहेको छ, हाकिम नभएका खाली कुर्सी देखाइरहेको छ, घूस खानेलाई ‘रंगेहात’ पक्राइरहेको छ । व्यक्ति–पत्रकार ठूला सञ्चारगृहमा कैद नभई, आफ्नै बुतामा खुलेको निजी र स्वतन्त्र अनलाइनपोर्टलमार्फत निर्भीकतापूर्वक पत्रकारिता गरेको बताइरहेको छ । स्थापित अखबार र टीभीले ठाउँ नदिने समाचार र विचार आफ्नै ब्लगमार्फत प्रसार हुँदा स्वतन्त्रताको अनुभूति भएको बताउने पनि उति नै छन् ।विश्लेषणका लागि कुनै प्रचलित विषयविज्ञ वा प्राध्यापक कुरिरहनुपर्दैन । तथ्यहरू मुखाग्र भएको, शब्दभण्डार किञ्चित् ठूलो भएको, आत्मविश्वाससाथ बोल्न जान्ने जसले पनि जुनसुकै विषयमा आफ्ना धारणा प्रसार गरिरहेका छन् । विश्लेषक वा विज्ञ बन्न काठमाडौंमै पनि भइरहनु पर्दैन । सुदूरपश्चिमको शाही बोलिरहेको छ, पूर्वी पहाडको प्रसाईले लल्कारिरहेको छ । ती सबै सुनिएका छन्, आम मान्छे प्रभावित भएका छन् । तराईको खनाल र पहाडको भण्डारी बोलिरहेको छ, तिनैका बोलीले उकेरा लगाएका मान्छे सडकमा एमसीसीका पुत्ला जलाउँदैछन् । स्थापित सञ्चारगृहले आँट गर्न नसकेकाले युट्युबमा आएको भन्दै केसी र दाहालहरू ‘मुलुक बेचिँदै गरेको’ भयानक रहस्यको खुलासा गरिरहेका छन् ।
सञ्चारकर्म गर्न, सिनेमा बनाउन, मञ्च सृजना गर्न, पुस्तक प्रकाशन गर्न, आन्दोलन र अभियान परिचालन गर्न आम मान्छेलाई प्रविधिले सहयोग गरेको सत्य हो । तर सोध्नैपर्ने केही सवाल राम्रोसँग सोध्न बाँकी नै छैन, खोज्नैपर्ने पर्याप्त तथ्यको खोजी हुन सकेको छैन । सञ्चारकर्म पुँजीको कैदबाट मुक्त भएको हो भने सूचनाकै खडेरी किन परिरहेको छ ? हुनैपर्ने जरुरी बहस किन भइरहेको छैन ? उदाहरणका लागि, एमसीसी नै लिऔं । अनुदान, ऋण, पुँजीवादको वित्तीय घुम्तीलगायत विषयमा जस्ता बहस हुनुपर्ने, ती नभएर महिनौंसम्म राष्ट्रवादको विषाक्त विरुदावली मात्रै किन घन्कियो ?विद्युतीय सञ्जालको भरपूर उपयोग गर्दा पनि सामाजिक आन्दोलनप्रति आम विश्वास बढ्न सकेको छैन, न हिजो ओलीको प्रतिगमनविरुद्ध नै भनेजस्तो गतिलो आन्दोलन सृजित हुनसक्यो । थारू र दलितका मुद्दामा माइतीघरमा दुई–चार सय मान्छे बटुल्न हम्मे परिरहेकै छ । गाई मारेको आरोपमा थुनिएका तामाङको पक्षमा सिंगै समुदायले जतिसुकै ठूलो स्वर उराले पनि भण्डारी र दाहालहरूको षड्यन्त्र सिद्धान्तजति ती सम्प्रेष्य हुनसकेनन् । त्यसैले खोज्नैपर्नेछ, के बहिष्कृतले सूचना प्रविधिको सहायताले आफ्नो आन्दोलन सबल भएको महसुस गरेका छन् ? वा, उठ्नैपर्ने विषय नउठ्नमा सञ्जालीय हल्लाखल्लाले पनि मद्दत पुर्याइरहेको छ ?
विषय अरू पनि छन् । के गाउँ र साना सहरमा बसेर दशकौं असल काम गरेको शिक्षक यी सञ्जालहरूमा आफ्ना अनुभव साटिरहेको छ ? के हिमालमा बसेर पर्यावरण नष्ट नगरी जीवनयापन गरिरहेका आम मानिस युट्युबमा आफ्ना मौलिक सीप अरूलाई बताइरहेका छन् ? के किसान र मजदुर आफ्ना समस्या मुखरित गर्न सञ्जाललाई भरपर्दो माध्यम मान्छन् ? यी आवाज त्यहाँ छन् तर नसुनिएका हुन् ? अझै विलुप्त छन् भने आम पहुँचमा भएको सूचना प्रविधि लोकतान्त्रिक भइसकेको छैन । हिजोको नियन्त्रण आज फुकुवा भइसकेको छैन । मुक्त आमवृत्त निर्माणमा अझै लामो दूरी तय गर्नुपर्नेछ ।कम्तीमा, ती वृद्ध जो आफ्नो देश र नागरिकताको खोजीमा छन्, तिनले कुनै युट्युब–सेलेब्रिटीको भर परेर होइन, आफैं बोलेर सुनिने अवस्थाको निर्माण नभएसम्म हिजो र आजमा तात्त्विक फरक हुँदैन ।