वीरगञ्ज । बजारको भाउभन्दा १० देखि २० प्रतिशतसम्म छुटमा सामाग्री बिक्रि गर्ने अभिप्रायले वीरगञ्जमा विगतजस्तै सस्तो बजार पसल बिहिवारदेखि शुरु हुँदै छ ।वीरगञ्ज उद्योग वाणिज्य संघले हरेक वर्ष लगाउँदै आएको सस्तो बजार पसल यस वर्ष पनि घटस्थापनाको दिन २१ गतेदेखि शुरु हुने संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताए ।
हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजय दशमीको अवसरमा उपभोक्ताहरुलाई सहुलियत दिने उद्देश्यले संघले हरेक वर्ष सस्तो बजार लगाउँदै आएको बरिष्ठ उपाध्यक्ष पटवारीको भनाई छ । यद्यपी गत वर्ष भने कोरोना भाइरसको महामारीका कारण लाग्न सकेको थिएन । साल्ट ट्रेडिंग, घरेलुसहित जिल्ला प्रशासन कार्यालय लगायतसँग सस्तो बजार सम्बन्धमा छलफल भइरहेको पटवारीले यात्राडेलीलाई बताए । आम उपभोक्ताहरुले प्रयोग गर्ने किराना देखि ग्याससहितका सबै सामाग्रीको स्टल राखेर आदर्शनगरस्थित टिवडेवाल धर्मशालामा सस्तो बजार पसल शुरु हुने संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।
यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघकै भवनमा हुने गरेको सस्तो बजार पसल यस वर्ष टिवडेवाल धर्मशालामा हुने भएको हो । धर्मशाला बजारको मध्यभागमा पर्ने भएकाले पनि किनमेल गर्नेको उपस्थिती बाक्लो हुने अपेक्षा गरेको गुप्ताको भनाई छ । चाडवाडको समयमा उपभोक्ताहरुलाई थोरै भएपनि सहुलिएत दिएमा चाडवाडको रौनक अँझै बढ्ने र संघको गरिमा पनि उच्च हुने विश्वासका साथ हरेक वर्ष बजार लगाउँदै आएको गुप्ताको विश्वास छ ।