प्रहरी प्रशासनकै मिलेमतोमा नक्कली चुरोटको अवैध धन्धा, सीमावर्ती बजारमा नक्कली चुरोट छ्यापछ्यापती
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार ११:४४
४६५७
वीरगञ्ज । नेपालका सीमावर्ती बजारमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको पाइएको छ । नेपालमा उत्पादन हुने खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट भारतबाट भित्र्याएर अवैध धन्धा चलाएको भेटिएको हो । नक्कली चुरोटको कारोबार भइरहेको जानकारी आएपछि प्रहरी र भन्सारले धनुषाका केही स्थानमा छापा मारेर नक्कली चुरोट बरामद गरेको थियो ।भारतबाट अवैध रूपमा आयातित नक्कली चुरोट अन्तःशुल्कको स्टीकरविनै विक्री भइरहेको भेटिएको छ । नेपालमा ती ब्राण्डका उत्पादक सूर्य नेपाल प्रालिका प्रतिनिधिले सरोकारका निकायलाई नक्कली चुरोटको कारोबारबारेमा जानकारी गराएका थिए । धनुषाको जनकपुर र आसपासका क्षेत्र, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र रौतहटका सीमावर्ती क्षेत्रमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको सूर्य नेपाल प्रालिका २ नम्बर प्रदेश प्रबन्धक प्रकाश भण्डारीले दाबी गरे ।
ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महीनामा कम्तीमा ५ करोड रुपैयाँबराबरको नक्कली चुरोट अवैध रूपमा भित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रतिमहीना करीब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान प्रबन्धक भण्डारीको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादकका प्रतिनिधिले लगाएका छन् ।राजस्व छल्नेलाई सरकार आफैले कडा कानूनी कारबाही गर्नुपर्नेमा मुद्दा चलाउन आग्रह गर्दासमेत त्यस्ता व्यवसायीलाई कारबाही अघि बढाउन सरोकारवाला निकाय सक्रिय नदेखिएको ती प्रतिनिधिले बताए । अन्तःशुल्क छल्ने अवैध कारोबारीलाई थुनामा राखेर कारबाही अघि बढाउन माग गर्दै सूर्य नेपालका विक्रेताहरूले धनुषा प्रशासन, प्रहरी, राजस्व अनुसन्धानलगायतका निकायमा जाहेरी दिएका छन् ।
नक्कली चुरोटको अवैध कारोबारबारे सूर्य नेपालका प्रतिनिधिले जानकारी दिएपछि एक महीनाअघि जनकपुरका विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा चुरोट बरामद गरिएको थियो । प्रहरीले जनकपुरको माछाबजारस्थित दीपेश किरानामा छापा मारेर नक्कली चुरोटसहित २ जनालाई पक्राउ ग¥यो । तर, पक्राउ परेका दुवै जनालाई प्रहरीले छोडिसकेको छ ।त्यसैगरी जनकपुर भन्सारले गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट बरामद गरेको थियो । भन्सारले पनि अनुसन्धानका लागि आवश्यक परे बोलाउने भन्दै व्यवसायीलाई छोडिदिएको थियो ।
२ नम्बर प्रदेशका ८ ओटै जिल्लाको सीमाना भारतसित जोडिएको छ । खुला सीमाना दुरुपयोग गरी व्यवसायीले भारतमा बनाइएको नक्कली चुरोट भित्र्याउने गरेका छन् । यस्तो अवैध धन्धालाई स्थानीय प्रहरी प्रशासनले संरक्षण दिएको आरोप स्वदेशी उत्पादकको छ । सिमानामा अवैध गतिविधि नियन्त्रणका लागि भन्दै सशस्त्र र जनपथ प्रहरी खटाइए पनि नक्कली उत्पादन भित्रिनुले मिलेमतोको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रबाट सुर्ती र सुपारीजन्य उत्पादनको अवैध आयात भइरहेको छ ।