वीरगंज । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप बढेको हो ।निक्षेप वृद्धि भएर बैंकहरुको लगानी पनि उच्च दरले वृद्धि भए पनि बजारमा तरलताको अभाव कायमै छ । असोज पहिलो साता वाणिज्य बैंकहरुको कर्जा ३१ अर्ब वृद्धि भएकोमा दोस्रो साता ३९ अर्बले विस्तार भएको छ । कोभिडको महामारी कम भएसँगै आयात उच्च वृद्धि भएकाले कर्जाको माग पनि बढिरहेको छ ।
चालु आर्थिक वर्षमा मात्र बैंकहरुले २ खर्ब २१ अर्ब कर्जा विस्तार गरिसकेका छन् । जबकि यस अवधिमा बैंकहरुको निक्षेप १७ अर्बले मात्र बढेको छ । साउनमै ७८ अर्ब निक्षेप घटेकोमा असोजको दोस्रो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेप असार मसान्तकै स्थितिमा पुगेको छ ।असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १८ अर्ब निक्षेप संकलन गरी ३९ खर्ब ४२ अर्ब कर्जा लगानी गरेका छन् । गत आवको असारसम्ममा बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा लगानी गरेका थिए ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुमा पुँजी, कर्जा र निक्षेप (सिसिडी) अनुपात हटाएर कर्जा र निक्षेपको अनुपात कायम गरेपछि बैंकहरुमा कर्जा दिने क्षमता घटेर तरलताको अभाव भइरहेको छ ।यसैगरी साउनमा रेमिट्यान्सको गिरावट र आयात उच्च दरमा बढ्दा समेत बैंकको निक्षेप वृद्धिदर घटेको छ ।रेमिट्यान्सको गिरावट र आयातको वृद्धिले देशको विदेशी विनियम सञ्चितीमा समेत दबाब बढेको छ, जसका कारण राष्ट्र बैंकले गत साताबाट नै नगदमा डलर सटहीमा कडाइ गर्न थालिसकेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक उपायमार्फत तरलता व्यवस्थापनमा लागिरहेको बताउँछन् । “अहिले बजारमा ५६ अर्ब तरलता छ । चाडपर्वमा बैंकबाट निक्षेप झिक्ने क्रम पनि बढ्ने र पैसा आफैंसँगै राख्ने भएकाले केही दबाब हुनसक्छ, दसैंपछि विस्तारै अवस्था सहज हुँदै जान्छ,” उनले भने ।चालु आर्थिक वर्षमा रेमिट्यान्सका साथै सेवा आयमा कमी आएको तर आयात र कर्जा वृद्धिदर उच्च हुँदा तरलतामा दबाब बढेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।